काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व अर्थराज्यमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता हरिराज खेवाको निधनले पूर्व क्षेत्रले मात्रै नभएर मुलुकले एक होनहार योद्धा गुमाउनुपरेको बताएका छन् । यही साउन १३ गते धनकुटाको सिधुवामा भएको बस दुर्घटनामा परी नेता खेवाको निधन भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेता खेवाको परिवारसँग भेटवार्ता गर्दै उनले आश्रित परिवारलाई सरकारले पूर्ण सहयोग गर्ने बताए । भेटमा प्रधानमन्त्रीले शोकमा परिवारले देखाएको धैर्य र संयमताप्रति सन्तोष व्यक्त गर्दै छोरीहरुको शिक्षादीक्षामा पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए । भेटमा सहभागी नेता खेवाकी श्रीमती गीता गुरुङका अनुसार प्रधानमन्त्रीले दुई छोरी लाराक र गुराँसको शिक्षादीक्षामा सरकारले सहयोग गर्ने तथा परिवारलाई रोजगारीको प्रबन्ध गर्ने बचन दिएको छ । यस्तै नेता खेवाको राजनीतिक उत्तराधिकारीका रुपमा उहाँकी श्रीमतीले राजनीतिक जीवन सुरु गर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भयो ।