इटहरी/इटहरी–८ मा डेरागरी बस्ने मुना नेपाल विहीबार विहानको खाना खाएर आँपगाछी गइन् । केही दिन अघि माइजुको निधन भएको ठाउँमा काम सघाउन उनी आँपगाछीमा गएकी थिइन् । दिउँसो ४ बजेतिर छिमेकीको फोन आए पछि उनी छक्क परिन् । ‘घरमा चोरी भयो भनेर फोन आयो’ नेपालले भनिन् ‘शूरुमा त पत्यारनै लागेन, पछि आउँदा चोरले ढोका फोडेर दराजमा भएको सून र पैसा लगेछ ।’ उनका अनुसार एक लाख रुपैयाँ बराबरको चोरी भएछ । श्रीमान् पनि कार्यालय गएको बेला दिउँसो घरमा कोही नहुने भएको र विहीबार भने आसपासका छिमेकीलाई पनि आफू दिनभर घरमा नहुने जानकारी नगराउँदा चोरलाई सजिलो भएको हो । ‘म घरमा हुन्न भनेको भए कोठामा कोही पस्दा को आएछ भनेर निगरानी हुन्थ्यो होला’ उनले ब्लाष्टसँग भनिन् ‘तर, कसैलाई नभनी हिन्दा आफन्तै आए होलान् भनेर वास्ता भएन होला ।’ chor चावी लगाएको कोठा त्यसमा पनि दिउँसोको सयमा चोरी हुन्छ भनेर कस्ले सोचेको हुन्छ होला र तर, विहीबार इटहरीका ६ घरमा यसरीनै चोरी भयो । इटहरी स्थित भलाद्मी टोल, नेशनल गल्ली र आसपासका घरमा दिउँसै चोरी भएको हो । कति पय घरमा चोरको समुहले चावी मात्रै फुटाएर छाडेको पाइयो । एकै दिन ६ घरबाट चोरी भए पछि इटहरी प्रहरीलाई पनि चोरी गर्ने समुह पहिचान गर्ने र पक्राउ गर्ने चुनौति बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार विहीबार दिउँसोको समयमा इटहरी–८ र आसपासका वस्तीमा ६ घरमा लगातार चोरी भयो । प्रहरीले दिएको जानकारी अनुसार इटहरी–८ आसपासका दुखीदेवी तब्दार, निरबहादुर पौडेल, सञ्जय चौधरी, रिकी खनाल, बलबहादुर श्रेष्ठ र लक्ष्मी बस्नेतको घर तथा कोठामा चोरी भएको छ । चोरको समुहले ती घरबाट तीन लाख रुपैयाँ र चार तोला सून चोरी गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारीले बताए । बढ्दो शहरीकरण सँगै इटहरीमा विभिन्न स्थानबाट वसाई सराई गरी आउने र कोठा भाडामा बस्नेहरुको संख्या बढ्दो छ । एकै घरमा भाडामा बस्नेहरु पनि एक आपसमा घुलमिल भएको हुँदैन । जसको कारण यस्तो चोरी गर्ने समुहले फाइदा उठाउने हुँदा घर छाडेर जाने बेलामा ओल्लो पल्लो छिमेकीलाई जानकारी गराए यस्ता घटनामा कमी हुने प्रहरीको भनाई छ । चोरी गर्ने समुहलाई देख्ने पनि वस्तीका मान्छे छन् । तर, पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी आधिकारीले बताए । इटहरीमा केही समय अघि रातको समयमा यसरी चोरी गर्ने क्रम बढेको थियो । घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडेर चोरी गर्ने समुह बढे पछि प्रहरीले रातको समयमा प्रहरी गस्ती बढाएको थियो । तर, विहीबार एकै दिन ६ वटा घरमा चोरी भए पछि प्रहरी नै हैरानी भएको छ । ‘दिउँसोको चोरीमा प्रहरीको भन्दा पनि स्वयम् घरधनी पनि सतर्क हुनु पर्छ’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारीले ब्लाष्टसँग भने ‘कम्तिमा घर वा कोठा छाडेर गए पछि छिमेकीलाई जानकारी गराए मात्रै पनि दिउँसोको चोरी कम हुन्छ ।’ घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।