bdlbariबेलबारी/ मोरङको केराबारी गाविसको वडा नं. ९ लाई बेलबारी नगरपालिकामा समाहित गर्न वडावासीहरुको प्रतिनिधि टोलीले मङ्गलबार मोरङ जिल्ला विकास समितिमा स्मरणपत्र बुझाएको छ । सरकारले स्थानीय निकायको पुनःसंरचना गर्ने कार्यक्रमसँगै वडावासीले बेलबारीमा समाहित हुन चाहेका हुन् । केराबारी–९ को देवीझोडा र घङ्घरुमा भएको वडा भेलामा स्थानीयले बेलबारीमा जान समर्थन जनाएका हुँदा बेलबारीमा समाहित हुने प्रक्रिया अगाडि बढाइएको हो । २०६८ सालको जनगणनाअनुसार ४ हजार ७ सय ६४ जनसङ्ख्या रहेको केराबारी–९ का बासिन्दा केराबारी गाविस जङ्गल, खोला र यातायातको असुविधाका कारण अपायक परेको भन्दै बेलबारीमा जान चाहन्छन् । वडालाई बेलबारीमा समाहित गर्ने अभियानअन्तर्गत वडा नागरिक मञ्चका संयोजक ललित तामाङको अगुवाइमा वडावासीको हस्ताक्षरसहितको स्मरणपत्र बुझाउन जिल्ला विकास समिति पुगेको थियो । टोलीले जिल्ला विकास समितिको योजना शाखाका अधिकृत डमरुबल्लभ बराललाई हस्ताक्षरसहितको पत्र बुझाएको हो । केराबारी–९ का तीन हजारभन्दा बढीले गरेको हस्ताक्षरको प्रतिलिपि र निवेदन उनीहरुले कार्यालयमा बुझाएका हुन् । निवेदनमा वडावासीका लागि सात किलोमिटर जङ्गलको बाटो, खोला र यातायातको असुविधाका कारण अपायक परेको जनाइएको छ । भौगोलिक र प्रशासनिक हिसाबले हालको बेलबारी नगरपालिका सुगम र पायक पर्ने भएकोले बेलबारीमा समाहित हुन माग गरिएको छ । जिल्ला विकास समितिमा गएको सर्वदलीय टोलीले प्रमुख तीन दलका प्रमुखहरुलाई समेत भेटेको छ । टोलीले वडावासीका समस्या दर्शाउँदै आफुहरुले बेलबारीमा समाहित हुन चाहेकाले आवश्यक सहयोग गर्न माग ग¥यो । टोलीले नेपाली काङ्ग्रेसका मोरङ सचिव नागेश कोइराला, एमाले मोरङका अध्यक्ष महेश रेग्मी, माओवादी केन्द्रका जिल्ला इन्चार्ज कुशल लिम्बूलाई भेट गरेको थियो । दलका प्रमुखहरुले पनि यो पुनःसंरचना जनताकै सुविधाका लागि भएकोले त्यसमा आपूm सक्दो लाग्ने आश्वासन दिएका थिए । अध्यक्ष रेग्मीले केराबारी–९ विना नै केराबारीलाई मध्यपहाडी क्षेत्रको दायरामा ल्याएर जनसङ्ख्या पु¥याउन सकिने उपाय बताएका छन् ।