शनिश्चरे/ बक्राहा खोलाले भत्काएको मोरङको हसन्दह–३ जयनगरको तटबन्ध निर्माण गर्न शनिबार (आज) बाट २ हजार बढी मानिस खटिदै छन् ।जिल्ला दैवी प्रकोप उद्धार समितिको शुक्रबार विराटनगरमा बसेको बैठकले विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु जनश्रमदानमा खटाउने निर्णय गरेको हो । शनिबार ११ बजे २ हजार ३ सय जनाले एकैचोटी कटानक्षेत्र पुगेर श्रमदानमा खटिने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले जानकारी दिएका छन् । उनले बाँध निर्माणमा स्थानीयवासीहरु र आसपासका सहयोगीहरु समेत जुट्न आव्हान गरे ।सो अभियानका लागि उद्योगी राजेन्द्र राउतले डोजर, स्काभेटर तथा पाइप गाडने मेशिन निःशुल्क रुपमा उपलब्ध गराउने भएका छन् । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले १० हजार बोरा तथा बाँध निर्माण गर्न लाग्ने १० हजार घना बाँसको व्यवस्था गरेको कार्यालय प्रमुख देवनारायण साहले बताए ।गत साउन ८ गते बक्राहाको बाढी हसन्दहको जयनगर टोलमा करिव ४ सय मिटर बाँध फुटाएर वस्तीमा पस्दा हसन्दह, अमरदह, गोविन्दपुर लगायत नेपाल भारतसीमा सम्मका सयौं घरहरु प्रभावित भएका छन् । शुक्रबार साँझ केहीबेर पानी परेपनि थप क्षति भनें भएको छैन । जयनगर टोलको पूर्वतर्फ खोलाको भागमै बृक्षारोपण गरेर खोलो साँधुर्याएपछि खोलो घुमाउरो भएर पश्चिमको बाँध फुटाएको पश्चिमतर्फका बासिन्दाले जिकिर गरेका थिए । त्यही जिकिरमाथि छलफल गरी सवैको सहमतिमा पूर्वको केही भाग काटेर खोलाको बहाव सिधा पार्न गाउँलेहरुले स्काभेटरको प्रयोग गरिरहेका छन् । यसअघि ७५ प्रतिशत वस्तीमा पसेको बाढी वर्षा रोकिएर केही घटेपछि थालिएको नियन्त्रण प्रयासबाट करिव ७५ प्रतिशत भाग पानी साविकको खोला क्षेत्रबाटै बग्न थालेको स्थानीय होमबहादुर खड्काले बताए ।