उर्लाबारी/सामाजिक क्षेत्रमा सक्रिय संस्था न्यानो अभियान उर्लाबारीले राजघाटका बाढीपीडितलाई राहत वितरण गरेको छ । सरकारी निकाय मौन रहेको बेला बिचल्लीमा परेका राजघाट ३ का बाढीपीडितलाई न्यानो अभियानले बिहीबार राहत सामग्री वितरण गरेको हो ।

अभियानले सीमावर्ती क्षेत्रका १७ सन्थाल परिवारलाई राहतस्वरुप चिउरा, भुजा, चाउचाउ, पानी र फर्म (ओछ्याउने म्याट) वितरण गरेको छ । अभियानका सदस्य कमल जोजो वाईवाको अगुवाइमा पीडितलाई प्रतिपरिवार दुई केजी भुजा, तीन केजी च्युरा, एक कार्टुन पानी, चाउचाउ र एक एक वटा फम वितरण गरिएको अभियानका संयोजक पूर्ण सिंघक लिम्बूले जानकारी दिनुभयो । बोक्राहा खोलामा आएको बाढीले सन्थाल समुदाय बढी प्रभावित भएका छन् ।

बाढीका कारण सन्थाल बस्ती विस्थापनको अवस्थामा पुगेको छ । राहत वितरण कार्यक्रममा राजघाट गाविसका सचिव चन्द्रप्रकाश पराजुली, इटहरा गाविसका सचिव नवराज पराजुली, सञ्चार क्लबका अध्यक्ष घनश्याम भण्डारी, न्यानो अभियानका संयोजक लिम्बू, अभियानमा सक्रिय ज्ञानु योञ्जन लामा, कृष्ण लामा, कमल जोजो वाइवा, राजकुमार तामाङ, सरोज बस्नेत, विजय धिमाल, ईश्वरी भट्टराई, तेजन खड्का, विवेक हिङमाङलगायतको सक्रिय सहभागिता रहेको थियो । अभियानमा सामाजिक क्षेत्रमा अनवरत रुपमा सक्रिय युवाहरु रहेका छन् ।