हरकपुर (मोरङ) / केही दिनयतादेखि मोरङ बयरवन(३, हरकपुरका रामकिशन ऋषिदेवको मात्रै हैन, उनको परिवारको निद्रा गुमेको छ । एक सय मिटर परको डाँस खोला यतिखेर ३० मिटर छेउबाट बग्न थालेपछि ऋषिदेवको परिवारको निद्रा गुम्न थालेको हो ।
दुई परिवार रहेका ऋषिदेव परिवारको कमाई खाने खेत त छैन नै भएको ऐलानी जग्गामा बनाएको घरसमेत खोलाको उठीबास लगाउँला कि भन्ने चिन्ताले अहिले रामकिशन र विमलु ऋषिदेवको परिवारलाई पिरोल्न थालेको छ । ‘घर नजिकैबाट खोला बग्न थालिसक्यो कसरी निद्रा आउँछ ?’ चिन्तित ऋषिदेव भन्छन् । केही दिन अघिदेखि अविरल वर्षाको कारण खोलामा आएको बाढीका कारण कटान हुन थालेपछि उनीहरुको घर नजिकैबाट खोला बग्न थालेको छ ।
दैनिक बाढी आउने कारण रातभर जाग्राम बस्नु पर्ने पीडाबाट ऋषिदेव परिवार अहिले गुज्रिएको छ । खोला कटानको कारण अमर थापा, पञ्चबहादुर तामाङ, भक्ती थापाको परिवारलाई पनि उस्तै चिन्ता थपिएको छ । दुईतिरको खोलाको कारण धानखेतसमेत पुरिन थालेको छ । ‘खोलामा आएको बाढीले गर्दा धानखेत नै पुरिएको छ ।’ उनले भने ‘पूर्वतिरबाट कटान बढिरहेको छ । त्यही खोला र अर्को खोलामा आएको बाढीले खेत नै डुबानमा परेको छ ।’ त्यही नजिकैका तामाङको घरजग्गा नै बाढीको कटानमा पर्न थालेको छ । अहिले उनको ५ कठ्ठा जमिन डाँस खोलाले कटान गरेको छ ।
‘खोला कटानले उसको धानसमेत बगाइदियो ।’ तामाङका छिमेकी थापा भन्छन् । दिनदिनै आउने बाढी र बारी कटानले गर्दा अहिले घर नजिकैबाट खोला बग्न थालिसकेकोछ । कटानका कारण लक्ष्मी सामुदायिक वन क्षेत्रको सिसौंका रुखहरुसमेत बगाउन थालेको छ । कटानले त्यहाँका झण्डै पाँच परिवार यतिखेर समस्यामा पर्न थालेको छ । तत्कालै पहल नगरिए रामकिशन र विमलुको घर कटानका कारण बगाउन सक्ने सम्भावना देखिएको छ । ग्रामिण भेगहरुमा सरकारी निकायहरुको ध्यान नजाँदा हरेक वर्ष समस्या हुने गरेको छ । गाउँ विकास समितिहरुले समेत त्यस क्षेत्रमा ध्यान नदिने गरेको छ ।
पार्टी भित्रैको खिचातानीले स्पर अन्यत्रै
राजनीतिक खिचातानीको कारण यस वर्ष त्यस क्षेत्रमा लगाइन लागिएको स्परसमेत अन्य क्षेत्र तिर लगिएको छ । जसको कारण पनि कटानले ऋषिदेव परिवार अहिले समस्यामा परेको हो । यसपटक संसद विकास कोष तथा अन्य क्षेत्रबाट आएको रकमले बयरवन(६ र ७ क्षेत्रमा जोखिम रहेको भन्दै त्यस क्षेत्रमा स्पर बाधिएको थियो ।
एमाले पार्टीका अध्यक्ष दानबहादुर बस्नेतले तत्काल गइहाल्ने अवस्था नदेखिएकाले पनि ६, ७ नम्बर वार्डहरुमा जोखिम देखिएकाले स्पर माथि बाधिएको बताए । ‘तत्काल गइहाल्ने अवस्था देखिएको थिएन् । त्यही भएर छलफल गरेरै माथि बाधिएको हो ।’ उनले फोनसम्पर्कमा भने । पार्टी भित्रैको तानातानको कारण अहिले त्यहाँको पाँच परिवार चपेटामा परेको छ । गाउँका एमालेका ३ नम्बर वार्ड सल्लाहकार सैलेन्द्र थोक्लेनले पार्टी भित्रको तानातानले नै ६ र ७ नम्बर वार्डतिर लगिएको स्वीर्काछन् । पार्टीका अध्यक्ष दानबहादुरले अव आउँदो बजेट त्यस क्षेत्रका लागि छुट्याइने बताए ।