विजयपुर/सुनसरीको महेन्द्रनगरस्थित चक्रघट्टी स्वास्थ्य चौकीका दुई कर्मचारीले नौ महिनादेखि तलब नपाएपछि स्वास्थ्य चौकीको प्रसुती गृह (बर्थिङ सेन्टर) बन्द हुने अवस्थामा पुगेको छ । प्रसुती गृहका लागि महेन्द्रनगर गाविसले करारमा नियुक्त गरेका दुई कर्मचारीले नौ महिनादेखि तलब नपाएपछि कामसमेत छाडेका छन् । तर गाविसले भने कर्मचारीको तलबबापतको रकम निकासा गरिसकेको जनाएको छ । स्वास्थ्य चौकी प्रमुखले भने पूरा रकम नआएको दावी गरे । यसले कर्मचारीको तलब ‘बीचमै गायब’ भएको सङ्केत गर्छ । स्वास्थ्य चौकीका कर्मचारीहरुले भने प्रमुख रामशरण मण्डलको गैरजिम्मेवारीका कारण समस्या सिर्जना भएको बताए । [caption id="attachment_7360" align="aligncenter" width="800"]talab-gayab तलब नपाएपछि कर्मचारीले दिएको निबेदन र दर्ता गराएको दर्ता किताब[/caption] गाविसले प्रसुती केन्द्रका लागि २०६६ सालमा अहेव दीपक लुइँटेल र अनमी इन्दिरा गौतमलाई करारमा नियुक्त गरेको थियो । दुवैलाई ६६ सालदेखि मासिक ७ हजार रुपैयाँ मात्र तलब दिइएको छ । उनीहरुले तलब वृद्धि र तलब भुक्तानीको माग गर्दै गत असार २९ गते नै गाविसको कार्यालय र स्वास्थ्य चौकीमा निवेदन दिएका थिए । आपूmहरुले पटक–पटक तलब माग गर्र्दा चौकी प्रमुख मण्डलले ‘मसँग कचकच नगर, काम नगर्ने हो भने राजीनामा दिए हुन्छ’ भन्दै जवाफ फर्काएको अहेव लुइँटेलले जनाए । चौकी प्रमुखले समेत वास्ता नगरेपछि अहेव लुइँटेल र अनमी गौतमले काम छाडेका छन् । ‘६३ सालदेखि सात हजार रुपैयाँमा २४ घण्टा काम गर्दै आएकी छु तर अहिले नौ महिनादेखि तलब पाएकी छैन’, अनमी गौतमले भनिन्, ‘मेरो पनि परिवार छ, मैले पनि बाँच्नुपर्छ । तलब पनि नपाएपछि कसरी काम गर्नु ?’ स्वास्थ्य चौकी सञ्चालन गर्न व्यवस्थापन समितिसमेत बनाइएको छ । समितिका अध्यक्ष गाविस सचिव र सचिव स्वास्थ्य चौकीका प्रमुख रहेका छन् । चौकी र प्रसुती केन्द्रमा कुनै समस्या आए समितिको बैठक बसाएर समाधान गर्नुपर्ने हो तर समितिका सचिवसमेत रहेका चौकी प्रमुखले बैठक नै नबोलाएको कर्मचारीहरुको आरोप छ । शुक्रबार स्वास्थ्य चौकीमा पुगेर केन्द्रका कर्मचारीले काम छाडेको विषयमा जानकारी माग्दा मण्डलले आपूmलाई यसबारे कुनै औपचारिक जानकारी नभएको बताए । तर चौकीको दर्ता किताबमा अनमी गौतम र अहेव लुइँटेलको पत्र २०७३ साल असार २८ गते दर्ता भएको छ । दर्ता किताबमा अनमी गौतमको पत्र दर्ता नम्बर ३९ छ भने लुइँटेलको ४० छ । दर्ता नम्बर देखाउनु अगाडिसम्म प्रमुख मण्डलले गौतम र लुइँटेलले कुनै लिखित जानकारी नदिएको बताएका थिए । दर्ता नम्बर देखाएपछि उनले आपूmलाई जानकारी नभएको र पत्र पनि नपाएको बताए । उनकै कर्मचारीले भने गौतम र लुइँटेलको पत्र प्रमुखकै टेबलबाट निकालेर देखाएका थिए । पत्र देखाउनासाथ उनले ‘यो पत्र त मेरै अगाडि लेखेको हो त’ भन्दै गैरजिम्मेवार जवाफ दिएका थिए । अहेव लुइँटेलले भने, ‘उहाँको यस्तै रवैयाका कारण हामी पीडित भएका हौँ ।’ कर्मचारीको तलब गाविसका अघिल्ला सचिवले रोकिदिएको भन्दै मण्डल पन्छिए । अघिल्ला सचिव रामबहादुर श्रेष्ठसँग भने सम्पर्क हुन सकेन । वर्तमान गाविस सचिव शक्तिराज रेग्मीले भने गाविसबाट अहेव र अनमीका लागि तलब निकासा गरिसकेको जनाए । ‘गाविसले पैसा रोकेको छैन’, स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका रेग्मीले भने, ‘म भर्खरै मात्र आएको हुँ, म आउनेबित्तिकै पैसा निकासा दिएको छु ।’ स्वास्थ्य चौकी प्रमुखले भने गाविसबाट पूरा रकम नआएको दावी गरे । प्रमुख मण्डलले एक हप्ताभित्र सबै समस्या समाधान गर्ने समेत बताए । चौकीको प्रसुती केन्द्रमा गत आर्थिक वर्ष मात्र झण्डै डेढ सय महिलाले प्रसुती गराए थिए ।