सप्तरी / रु २१ करोडको लागतमा अत्यन्त पुराना तथा जीर्ण भएका चन्द्रनहरलगायत अन्य नहरको मर्मत सम्भार तथा सरसफाइ भएपछि सप्तरी जिल्लामा सिँचाइ कार्य प्रभावकारी रुपमा भइरहेको छ । chandra nahar कोसी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय सप्तरीद्वारा आव २०७२÷०७३ को असार मसान्तसम्ममा रु २१ करोडको लागतमा सो कार्यालयअन्तर्गत चन्द्रनहर प्रणाली, कोसी पश्चिमी वितरण नहर प्रणाली तथा कोसी नहर पम्प प्रणालीको छुट्टाछुट्टैरुपमा मर्मत सम्भार, सरसफाइ र व्यवस्थापन कार्य गरिएको छ । कार्यालयका प्रमुख प्रसुन मिश्रका अनुसार बृहत् सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रममा रु १७ करोड ७५ लाख खर्च भएको छ भने नहर सञ्चालन, रेखदेख तथा पम्प सञ्चालनको लागि विद्युत् खर्च र बोरा खरिदमा रु तीन करोड २९ लाख सो आर्थिक वर्षमा खर्च भएको छ । सो कार्यालयअन्तर्गत सप्तरीमा मुल नहर, शाखा नहर, प्रशाखा नहर गरी उक्त नहरको लम्बाइ करिब ५०० किलोमिटर रहेको छ भने सो नहरबाट ५० हजार बिगाहा खेतीयोग्य जमिनमा सिँचाइ हँुदै आएको छ । सिँचाइ व्यवस्थापनका लागि चन्द्रनहरमा ११ वटा शाखा, कोसी पश्चिमी नहरमा १२ वटा शाखा र कोसी पम्प नहरमा १२ वटा शाखा रहेका छन् । सो कार्यालयले उक्त नहरको व्यवस्थापन कार्यबाट वर्षको दुई पटक गहुँ तथा धानखेतीमा पानी छोड्ने गरेको छ जसअन्तर्गत चन्द्रनहरको ओद्राहालगायत दुई शाखामा १२ महिना नै जमिन सिञ्चित भइरहेको छ । सप्तरीको चन्द्रनहरलगायत अन्य नहर अत्यन्त पुराना र जीर्ण भएका छन् र त्यसलाई व्यवस्थित गराउने कार्य प्रभावकारी रुपमा अगाडि बढाइएको प्रमुख मिश्रको भनाइ छ । पटकपटक नहर तथा नहरी काट्ने, छेक्ने, फोड्ने र अतिक्रमण गर्नेजस्ता कार्य हुने गरेकाले व्यवस्थितरुपमा सिँचाइ गर्न समस्या परेको त्यहाँका कर्मचारीको गुनासो रहेको छ । नहर संरक्षण कार्य सरकारको एक्लो प्रयासबाट मात्र सम्भव नभएकाले किसानले पनि सहयोग पु¥याउनु पर्ने प्रमुख मिश्रको आग्रह रहेको छ । यसैबीच, सप्तरी जिल्लामा ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस