भद्रपुर / आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७२/७३ मा कुल एक अर्व ४२ करोड ३० लाख २२ हजार रुपैया राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले एक अर्व ३५ करोड ८९ लाख ७३ हजार रुपैया राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर, राजस्व लक्ष्यभन्दा छ करोड ४० लाख ४९ हजार रुपैया बढी सङ्कलन भएको हो । कुल राजस्वमा १०४।७१ प्रतिशत प्रगति हासिल गरेको सो कार्यालयले मेची अञ्चल भरिका ४३ हजार ६५३ जना उद्योगी, व्यवसायी एवं राष्ट्रसेवक कर्मचारीबाट सो राजस्व सङ्कलन भएको कर अधिकृत नरेन्द्रकुमार कार्कीले जानकारी दिए । सङ्कलित राजस्वमा आम्दानी कर रु ६९ करोड ८१ लाख ८६ हजार, घर वहाल कर रु चार करोड ६४ लाख ४७ हजार, ब्याज कर रु चार करोड ८९ लाख ७८ हजार, मूल्य अभिवृद्धि कर रु ५१ करोड ४१ लाख ९७ हजार, अन्तःशुल्क रु सात करोड ५८ लाख ३८ हजार, स्वास्थ्य कर रु तीन करोड चार लाख ३१ हजार र शिक्षा कर रु ८९ लाख ४४ हजार छ । यसैगरी, समयमै मूल्य अभिवृद्धि र आम्दानी कर नबुझाएका ४२ जना निर्माण कम्पनीबाट रु सात करोड ५० लाख राजस्व असुल उपर हुनुपर्नेमा केही करदाताबाट रु दुई करोड ५० लाख राजस्व असुल उपर भएको र कुनै पनि कर तिर्न नमान्ने निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि वढाएको कर अधिकृत कार्कीले बताए । गएको आर्थिक वर्षमा मधेस आन्दोलन एवं भारतको अघोषित नाकाबन्दीका कारण लक्ष्यमा पुग्न नसकिने आँकलन भइरहेको अवस्थामा कार्यालयको सक्रियतामा लक्ष्यभन्दा बढी राजस्व उठेकोमा आन्तरिक राजस्व कार्यालयका प्रमुख निर्मल ढकालले खुशी ब्यक्त गरे । -रासस