बिर्तामोड / झापामा एक बर्षभित्रमा १५ जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको तथ्यांकमा राज्यले सुरक्षा ब्यवस्था मजबुत पारेको भएपनि उल्लेख्य रुपमा अपराध नियन्त्रण हुन सकेको छैन । आपराधिक घटनामा अघिल्लो बर्षको तुलनामा कमी आएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । गएको छ महिनामा मात्र झापामा ६ जनाको हत्या भएको छ भने १२ वटा बलात्कारको घटना भएको छ भने एउटा अपहरणको घटना भएको जनाइएको छ । बलात्कारको घटनामा बालिका बढी पीडित भएका छन् । सो अवधिमा आठवटा बलात्कारका घटना बालबालिकासँग जोडिएका छन् भने चारजना महिला बलात्कृत भएका छन् । बिगतको तुलनामा राज्यको तर्फबाट मानव अधिकार उल्लघनको घटनामा पनि कमी आएको इन्सेक झापाका प्रतिनिधी अर्जुन बस्नेतले बताए । उनले राज्यको तर्फबाट यो अवधिमा राज्यको तर्फबाट यातना, हत्या जस्ता घटना नभएको बताए । यस अवधिमा एक बालक, दुइ महिला र तीन पुरुषको हत्या भएको छ । अधिकांस घटना यौनसँग सम्बन्धित रहेको समेत बस्नेतले बताए । उनले मानव अधिकारका क्षेत्रमा यौन अपराध मुख्य चुनौती रहेको पनि प्रष्ट्याए । हाडनातामा हुने यौनबाट सिर्जित अपराधमा पीडितले सार्वजनिक गर्न नचाहने हुनाले कतिपय घटनाका दोषीहरुले उन्मुक्ति पाउने गरेका थिए । बस्नेतका अनुसार यो बर्ष आपराधिक घटनामा संलग्न अधिकांसलाई राज्यले कानुनी दायरामा ल्याउन सफल भएको छ ।