राजविराज/ koshiसोमवार रातीदेखि पुर्वि र पहाडि क्षेत्रमा परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । मंगलबार साँझसम्म कोशी ब्यारेजमा १ लाख ४० हजार ७० क्युसेक पानी मापन गरिएको छ । ब्यारेजका ५६ मध्ये २२ ढोका खोलेर पानीलाई निकास दिईएको छ । बिहान १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको थियो भने २० ढोका खोलिएको थिए । दिनभरीको अविरल वर्षाका कारण पानीको बहाव अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । निर्माणताका १२ लाख क्यूसेक पानी नियन्त्रण गर्न सक्ने क्षमता भएपनि पुलदेखि उत्तर वालुवा जम्मा भएका कारण ब्यारेजको क्षमतामा ह्रास आएको छ । अचेल २ लाख क्युसेक पानीको वहाव नाघेपछि सतर्कता सुचक झण्डा राख्ने गरिएको छ । गत वर्ष सिन्धुपाल्चोकको माम्खामा झरेको पहिरोले सुनकोशी नदि थुनिदा उत्पन्न हुन सक्ने सम्भावित खतरालाई रोक्न ब्यारेजका ५६ ओटै ढोका खोलीएको थियो । जुन ब्यारेज निर्माणको ५० वर्षपछिको पहिलो घटना हो । यसैगरी वर्षाका कारण सप्तरी जिल्लाका अन्य नदिहरुमा समेत पानीको वहाव वढेको छ । कतिपय नदिको वाढि खेतीयोग्य जमिन तथा गाउँमा समेत पसेको स्थानीयहरुले जनाएका छन् । यस्तै वर्षात सुरु भएसँगै पानीको निकास नहुँदा कतिपय गाउँ नै जलमग्न हुन थालेका छन् ।