धरान / फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको ‘पुल तुरुन्त बनाउनु ?’ भन्ने निर्देशन सुनेकी धरान–८ की विष्णुमाया परियारलाई अव पुल बन्ने भयो भन्ने लाग्यो । तर, प्रधानमन्त्री ओलीको निर्देशन दिएको चारमहिना बित्दा पनि पुल त कता हो कता उल्टो घरसमेत जोखिममा पर्न थालेपछि पुल भन्दा उनलाई घर बग्ला भन्ने चिन्ताले पिरोल्न थालेको छ । ‘कसैले याद नर्गदा हामीलाई नै उठिबास लगाउँला जस्तो छ ।’ उनी भन्छिन् । अहिले परियारलाई ‘प्रधानमन्त्रीले बोलेर पनि के हुँदो रहेछ र ?’ भन्ने लाग्न थालेको छ । किनकी चार महिना ठ्याक्कै भयो अहिलेसम्म पुलको सामान्य कामसमेत सुरु भएको छैन् । उल्टो हरेक दिन आउने खहरे भेलले छिमेकी रमा राई र उनको घर पुल जसरी नै भत्केला भन्ने लाग्न थालिसकेको छ । [caption id="attachment_4011" align="alignnone" width="750"]pul1 तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption] ‘सरकारको चेलचेक्रयाइले यस्तो भइरहेको छ ।’ उनले सुनाइन् । ७ असोज २०७२ को ८ बजे राति पुल भत्किँदा रमा राईको घर पनि सामान्य जोखिममा थियो । तर, अहिले रमा राईको घर मात्रै हैन, परियारको घरसमेत जोखिममा परेको छिमेकी चन्द्र सुब्बा बताउँछन् । सरकारले उतिखेरै बनाउन पहल गरेको भए सायद जोखिम घट्ने मात्रै हैन, यातायातसमेत सहज हुने उनी बताउँछन् । उनका अनुसार प्रधानमन्त्री ओलीको निर्देशन लगत्तै माटो चाँजलगायतको काम सुरु भएको थियो । तर, त्यो गरेको पनि तीन महिना बितिसकेको छ । अझै काम सुचारु हुने छनक देखिएको छैन् । परियार र राईको घरमात्रै जोखिममा छैन् । राष्ट्रिय प्रशारण लाइनको पोलसमेत खतरामा पर्न थालेको छ । चाडै मर्मत सम्भार नभए पूर्वतर्फको पोल नै खस्ने सम्भावना भइसकेको एलोहिम चर्चका पाष्टर मणी गुरुङले बताए । कतिपय सवारी साधनहरुसमेत झुक्किएर त्यही बाटोमा आइपुग्ने गरेका छन् । पुल नबनेका कारण यातायातहरु अन्यत्र बाटोबाट हिड्दा ट्राफिक व्यवस्थापनमासमेत चुनौति थपिँदै गएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने मूख्य बाटो रहेकाले पनि दैनिक सय भन्दा बढी एम्बुलेन्स, कार, निजी भ्यानहरु दर्गुछन् । पुल नहुँदा एम्बुलेन्स, कार, निजी भ्यानहरु पुतलीलाइनको बाटो भएर दर्गुदा ट्राफिक व्यवस्थापनमासमेत चुनौति देखा परेको हो । प्रधानमन्त्री ओलीले फागुन १ गतेको बीपी प्रतिष्ठानको १२ औं दीक्षान्त समारोहमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरलाई तत्कालै पुल बनाउनको लागि निर्देशन दिएका थिए । तर, निर्देशन दिएको चार महिना बित्दा पनि काम नहुने देखेपछि अहिले स्थानीयवासी चिन्तित छन् । सुब्बा भन्छन् ‘प्रधानमन्त्रीले भनेको मान्दैनन् । जनताको के मान्छन् ?’ सुब्बाले थपे ‘असोजदेखि बनाउने कुरा सुनिदैछ । बर्खाले घर लग्न आटिसक्यो । त्यो बेला बनाएर के काम ?’ त्यसो त रोकथामको लागि धरान उपमहानगरपालिकाले पहल नथालेको होइन् । त्यसका लागि स्थानीय उपभोक्ता समितिहरुसमेत बनिसकेका छन् । ‘घरहरु जोखिममा परेको कारणले संरक्षण गर्नको लागि २ लाख बजेट धरान उपमहानगरले छुट्याएको छ ।’ धरान उपमहानगरका योजना शाखाका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ भन्छन् । उक्त सडक डिभिजन कार्यालय विराटनगरले हेर्ने भएकाले पनि धरान उपमहानगरले पहल भन्दा पर्तिर गरेको छैन् । डिभिजन कार्यालय विराटनगरका डिई रामचन्द्र राउतले निर्माण सम्पन्न हुन अझै समय लाग्ने भन्दै पन्छिन्छन् । ‘ठेक्काको काम भइसकेको छ । ठेकेदारलाई ७ दिने सूचना जारी भइसकेको छ ।’ उनी भन्छन् ‘१५ दिन भित्र सम्झौता सम्पन्न हुन्छ ।’ उनले बर्खामा सुरु गर्ने सम्भावना न्युन रहेको बताए । ‘काम सुरु भएको एक ढेडवर्षमा सम्पन्न हुन्छ ।’ सरकारी कार्यालयको सुस्तताको कारणले गर्दा धरान–८ को एउटा बस्तीमा खानेपानीकोसमेत समस्या निम्तिएको छ । अहिले धरान–८ र १९ का स्थानीय जनता सोध्छन् ‘प्रधानमन्त्रीज्यू तपाईले दिएको निर्देशन कहिले पूरा हुन्छ ?’