बिर्तामोड/ सिटी सफारीका कारण मुक्तिचोकमा आवागमन प्रभावित हुन थालेपछि नियमन गर्न सर्वसम्मतिमा बनाइएको योजना तीन घण्टामै असफल भएको छ ।जिल्ला ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय र बिर्तामोड नगरपालिकाको अगुवाइमा सिटी रिक्सालाई मुक्तिचोकमा प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय जेठ २७ गते भएको थियो ।
सो निर्णय सोमबारदेखि लागू हुने भनिए पनि तीन घण्टा मात्र कार्यान्वयन भएको हो । सिटी सफारीलाई बिर्तामोड पश्चिमतर्पm अँधुवाखोला, उत्तरमा अतिथि सदन रोड, पूर्वमा हिकोला रोड र दक्षिणमा पुरानो हुलाक रोडभित्र प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय भएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिकले सोमबार बिहानैदेखि तोकिएको क्षेत्रमा सिटी सफारीको प्रवेशमा रोक लगाउन थालेको भए पनि १० बजेपछि असफल भयो । ‘बाइपास’ सडकमा खाल्डाखुल्डी भएका कारण ट्राफिकको योजना सफल नभएको हो । बाइपास सडकको स्तरोन्नति गरेमात्र त्यहाँबाट चलाउने भनेर सिटी सफारीका चालकले प्रतिकार गरेपछि ट्राफिक पछाडि हट्न बाध्य भएको हो ।
‘अतिथि सदन उत्तरको रोडमा ठूल्ठूला खाल्डा छन् । त्यसैगरी हिकोला रोडमा भैँसी आहाल बस्न सक्छ । पुरानो हुलाक रोड अति साँघुरो छ । यस्तो बाटोमा सफारी चलाउन भनेर हामीमाथि अन्याय गरिँदैछ’, नेपाल सिटी सफारी मजदुर सङ्घका सचिव महेन्द्र पाण्डेले भने, ‘त्यो हाम्रो गाँस खोस्ने षड्यन्त्र हो, हामी यस्तो निर्णय मान्दैनौँ ।’ बिर्तामोडमा सिटी सफारीको चाप अनियन्त्रित भइसकेको छ । सिटी सफारीकै कारण यहाँ दुर्घटनाको सम्भावना बढेको छ । कतिपय सिटी सफारी चालकलाई सामान्य ट्राफिक नियमसमेत थाहा छैन । उनीहरुले जुनसुकै ठाउँबाट पनि बाटो काट्ने, पार्किङ गर्नेलगायतका ट्राफिक नियमविपरीत काम गरिरहेका छन् ।
यसैबीच योजना असफल भएपछि बसेको सर्वपक्षीय बैठकले निषेधित क्षेत्रमा पार्किङ गर्न नदिने निर्णय गरेको बिर्तामोड ट्राफिक प्रमुख ढुण्डिराज गिरीले बताए । उनले तत्काललाई सो क्षेत्रमा सफारी सञ्चालन गर्न अवरोध नगर्ने निर्णय भएको जनाए । मेची अञ्चललकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा प्रायः भीडभाड हुने गर्दछ । हवाई रिक्सालाई विस्थापित गर्दै भित्रिएका सफारीको अचाक्ली चापका कारण शहर अस्तव्यस्त बनेको छ ।






























