धरान / अन्तर्राष्ट्रिय उत्पादक कम्पनीको पेयपदार्थ माउन्टेन डिउमा अखाद्य बस्तु फेला परेको छ । माउन्टेन डिउ नामक पेयपदार्थको २ सय ५० एमएलको शिशाको बोतलमा अखाद्य बस्तु फेला परेको हो । प्लाष्टिक जस्तो देखिने सेतो लामो पदार्थ उपभोक्ताले खाने क्रममा बोतलमा फेला परेको थियो । उपभोक्ता सञ्जय लिम्बूले धरान–१० स्थित कुमार गुरुङ किराना पसलबाट खरिद गरेर खाने क्रममा सो वस्तु देखेका थिए । ‘खान लाग्दा नै देखिहालेँ’, उनले भने, ‘खोल्ने क्रममा समेत ग्यास आएको थिएन ।’
गुरुङ किराना पसलका सञ्चालिका टीका गुरुङले आप्mनो पसलमा हालसम्म यस्ता पेयपदार्थमा अखाद्य बस्तुहरु फेला नपरेको बताइन् । तर, जेठ १६ गते राखेको यो बोतलमा भने अचम्मगरी सेतो पदार्थ भेटिएको बताइन् । ‘अहिलेसम्म यस्तो भेटिएको थिएन’, उनले भनिन्, ‘सञ्जय भाइले मागेपछि दिएँ तर, उहाँले देखिहाल्नु भएछ । त्यसपछि फिर्ता गरेँ ।’
इलाका प्रहरी कार्यालय धरानले उक्त बोतलसहित मुचुल्का उठाएको छ । इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बोतल र मुचुल्कासहित सम्बन्धित कार्यालयलाई बुझाउने बताए । अखाद्य हो वा होइन भन्ने बारेमा खाद्य तथा गुण नियन्त्रण विभागले हेर्ने गर्दछ । माउन्टेन डिउको उत्पादक बरुण बेबरेज प्रालि कोटेश्वर काठमाडौं हो ।