बाबुराम सुवेदी इटहरी /प्रहरीमा जागिरलगाई दिने भन्दै एक लाख रुपैयाँ लिएको अभियोगमा इटहरी–७ कि मञ्जु सरदारलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार सरदारले म्याङ्लुङ–८ तेह्रथुमकी तारा लिम्बूबाट गत वर्ष साउन महिनामा प्रहरीमा जागिर लगाईदिने भन्दै एक लाख रुपैयाँ लिएकी थिइन् । जागिर पनि नभएको र पैसा पनि फिर्ता नपाएको भन्दै ताराले दिएको निवेदनका आधारमा मञ्जुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पक्राउ परेकी सरदार नयाँ शक्ती नेपाल पार्टीको केन्द्रीय परिषद् सदस्य समेत भएको बताइएको छ । प्रहरीका अनुसार उनले अन्य व्यक्तीबाट पनि प्रहरीमा जागिर लगाइ दिने भन्दै पैसा लिएको तर, जागिर नभए पछि अन्यको रकम फिर्ता गरेको पाइएको छ । उनलाई ठगी मुद्धामा कारवाही अघि बढाइएको पनि पनि इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।