काठमाडौं / मन्त्रिपरिषदको मंगलबारको बैठकले दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको छ । बैठकले कायममुकायम महानिरीक्षक राईलाई महानिरीक्षकमा बढवा गर्ने निर्णय गरेको हो । सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्त भ्रष्टाचारको मुद्दामा मुछिए पछि सरकारले राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो ।
राईले ०४३ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेका थिए । सरकारले ०६९ भदौ २८ गतेको मन्त्रिपरिषद बैठकबाट सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । दोस्रो जनआन्दोलन दबाउन राईले निकै भूमिका खेलेका थिए । यद्यपी गणतान्त्रिक सरकारले अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । ठूलो आलोचनाका विच ०७० साल मंसिर १७ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बनाएको हो । नेपाल सरकारले गत ०७२ पुस ३ गते पुनः पदोन्नति गर्दै कायम मुकायम प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको थियो ।