भद्रपुर(ब्लाष्ट) विहारको कानून नजान्दा एक नेपाली युवक भारतीय जेलमा बस्न बाध्य भएका छन् ।
विहारको कानूनबारे अनविज्ञ झापाको पृथ्वीनगर गाविस हिमालीका २० वर्षीय मिलन लिम्बू भारतको किसनगञ्ज जेलमा छन् । लिम्बूलाई भद्रपुर नाकासँग जोडिएको गलगलियाबाट भारतीय प्रहरीले पक्राउ गरेको हो ।
भारतको विहार राज्यमा नितिशकुमार मुख्यमन्त्री भएपछि मार्च ३० तारिखमा शराबबन्दीको कानून पारित भएको थियोे । विधानमण्डलमा विहार संशोधन विधेयक, २०१६ सर्वसम्मत रुपमा पारित भएपछि अप्रिल १ तारिखदेखि यो कानून विहार राज्यभर लागू गरिएकोेछ । यसैको मारमा लिम्बू परेका हुन् ।
वैदेशिक रोजगारबाट भर्खरै घर फर्किएका लिम्बू काम विशेषले गलगलियाबाट बस चढेर किसनगञ्ज गइरहेका थिए । गलगलिया प्रहरीले सवारी साधन जाँचको क्रममा लिम्बूलाई मिरिकबाट उत्पादित दुई बोतल रक्सी र एक बोतल बियरसहित पक्राउ गरेको गलगलिया प्रहरी चौकीका इञ्जार्च मनोजकुमारले जनाए ।
पक्राउपछि भारतीय प्रहरीलाई बयान दिँदै लिम्बूले आपूm भर्खरै वैदेशिक रोजगारबाट फर्किएकाले विहारमा पारित भएको मदिरा निषेध कानूनबारे थाहा नभएको बताए । उनलाई भारतीय प्रहरीले कार्ड सङ्ख्या १९÷२०१६ एक्साइज एक्ट तोकेर बिहीबार नै किसनगञ्ज जेल चलान गरेको छ । विहारमा शराबबन्दी कानून लागू भएपछि मदिरा उत्पादन, बिक्री–वितरण वा सेवन गरे १ लाखदेखि ५ लाख रुपैयाँसम्म र १० वर्ष कैद सजायको व्यवस्था तोकिएको छ ।