‘बाबा हजुरको कपडा कति फोहोर, अर्को चेन्ज गरेर अफिस जानु्स’ भात खाएर निस्कन लागेका काकालाई काकीले भन्नुभयो । काकासँगै स्कुल जान लागेकी सानी छोरीको पेन्सिल हराएछ । छोरीले भनिन् ‘बाबा त्यहाँ पसलमा पेन्सिल किन्नुपर्छ है ?’ काकालाई काकीले पनि बाबा भनिन्, छोरीले पनि । काका र छोरी हिँडेपछि मैले काकीलाई भनें ‘काकी ल भन्नुहोस् काका तपाईंको बाबा कि छोरीको ?’ काकी एकछिन अकमाकाउनुभयो । अनि उल्टै मलाई प्रश्न गर्नुभयो ‘ल भन न त काकालाई मैले के भनेर बोलाउने ?’ उहाँको प्रश्न सुनेर म पनि एकछिन अलमलिएँ । काकाको नाम समुद्र, काकीको नाम सरला । काकाले काकीलाई सरला भनेर बोलाउनुहुन्छ । ‘त्यसो भए तपाईंले पनि समुद्र भनेर बोलाउँदा के होला ?’ ‘तिम्रो हजुरबा, हजुरआमाले सुन्नुभयो भने के होला ?’ काकीले भन्नुभयो । हो पनि, काकाले सरला भनेर बोलाएजस्तो काकीले समुद्र बनाएर बोलाउँदा त्यति सुहाउन्न । काकाले काकीलाई तिमी भन्ने भएकाले पो नाम काढ्न सजिलो भयो । तर काकीले त काकालाई तपाईं भनेर बोलाउनुपर्छ । तपाईं भन्ने मान्छेको नाम कसरी काढ्ने ? काकीले समुद्र भनेर बोलाउन मिल्दैन भन्ने मलाई पनि लाग्यो । त्यसपछि मैले सम्बोधनका अरु उपाय सोच्न थालें । काका र काकीको छोरीको नाम प्रेरणा हो । ‘प्रेरणाका बा भनेर बोलाउँदा के होला ?’ मैले अर्को उपाय सुनाएँ । ‘धत् यस्तो अप्ठेरोसँग पनि कसैले बोलाइरहोस्, प्रेरणाका बा रे…?’ काकी हाँस्नुभयो । ‘आ..म त बाबा नै भनेर बोलाउँछु, अरुले पनि त आफ्नो लोग्नेलाई बाबा नै भन्छन्’ काकीले भन्नुभयो । अनि मैले फेरि उही नाता सम्बन्धको बेलिबिस्तार लगाएँ । बाबा भनेको बा अर्थात बुवा । छोरीले काकालाई बाबा भनेको त मिल्यो । तर काकीले बाबा भन्दा त अनर्थ लाग्ने भयो ? ‘काकालाई बाबा भन्दा तपाईं त काकाको छोरी हुनुभयो, अनि प्रेरणा चाहिँ बहिनी ! बाबा र छोरी श्रीमान–श्रीमती कसरी हुन सक्छ ? अनि आफ्नै छोरीलाई बहिनी भन्न मिल्छ ?’ मैले नाता केलाउँदै गएपछि काकी फेरि पनि अलमलमा त पर्नुभयो । तर काकालाई बाबाको सट्टा के भनेर बोलाउने भन्ने विकल्प निकाल्न सक्नुभएन । अहिले पनि उहाँ आफ्नो श्रीमान अर्थात मेरो काकालाई बाबा नै भनेर बोलाउनुहुन्छ । म महिला भएको भए आफ्नो श्रीमानलाई के भनेर सम्बोधन गर्थें होला भनेर मलाई कहिलेकाहीँ खुल्दुली लाग्छ । मेरी श्रीमतीले चाहिँ मलाई बाबा भन्दिनन् । ए बुढो भनेर बोलाउँछिन् । अरु कसैकसैले पनि श्रीमानलाई बुढो भन्ने गरेको सुनेको छु । केहीले ड्याडी पनि भन्दा रहेछन् । छोराछोरीले बाबुलाई बाबा भन्दा श्रीमतीले पनि श्रीमानलाई बाबा भन्दा रहेछन् । अनि छोराछोरीले ड्याडी भन्दा उनीहरुका आमाले पनि श्रीमानलाई ड्याडी भन्दा रहेछन् । बुढो भन्नुभन्दा बाबा र ड्याडी भनेकै ठिकै हो कि जस्तो पनि लाग्छ । तर एउटा पुरुष छोराछोरीको पनि बाबा र ड्याडी, श्रीमतीको पनि बाबा र ड्याडी कसरी हुन सक्छ भनेर दिमाग तातिन्छ । उसो भए श्रीमतीले श्रीमानलाई के भनेर सम्बोधन गर्दा ठीक होला त ? सम्झँदै जाँदा दिमागमा अलि सानो बेलाको याद आउँछ । बा आँगनको छेउमै उभिरहेको बेलामा आमा भन्नुहुथ्यो ‘बाबु बालाई भात खान जानु भन्देउ त ।’ बालाई बोलाउने हामी छोराछोरी नदेखेको बेला चाहिँ आमा अलि अप्ठेरो गरेर बालाई भन्नुहुन्थ्यो, ‘सुन्नुस् त, भात खान आउनुहोस् ।’ अहिलेसम्म पनि आमाले बालाई सम्बोधन गरेर बोलाएको मैले सुनेको छैन । गाउँघरमा अरु काकी, आमाहरुले चाहिँ काका र बाहरुलाई बोलाउँदा ‘छोराका बाउ, कान्छीका बा, छोरोमान्छे..’ भन्ने गर्छन् । अहिलेका छोरी–बुहारीले आआफ्ना श्रीमानलाई नाम काढेर बोलाउनेदेखि बाबा र ड्याडी नै भन्नेसम्मको चलन चलाइसकेपनि धेरै आमाहरुले बाहरुलाई सम्बोधन गर्ने शब्द नै फेला पार्नुभएको छैन । हाम्रा बा, हजुरबाहरुले पनि आमाहरुलाई उसैगरी ‘छोराकी आमा, छोरोको आमा, आइमाई..’ भनेर सम्बोधन गर्नुहुन्छ । तर काका, दाईहरुले भने काकी र भाउजुहरुलाई नाम काढेर बोलाउनुहुन्छ । हिजोआज श्रीमानले श्रीमतीलाई सम्बोधन गरेर बोलाउन सजिलो छ । नाम भनेर बोलाउँदा पुग्यो । तर श्रीमतीलाई भने सजिलो छैन । केही बाहेक धेरैले श्रीमानलाई नामै काढेर बोलाउन सक्दैनन् । बाबा र ड्याडी त प्रायः धेरैले चलाईसके । आफ्नो श्रीमान अर्थात लोग्नेलाई छोराछोरीले झैं आफूले पनि ड्याडी र बाबा भनेर बोलाउने कि अरु केही विकल्प खोज्ने ? म महिला भएको भए अझै दिमाग घुमाउँथे । तपाईं नि ?