धनकुटा/ धनकुटामा शनिबार सम्पन्न सर्वपक्षीय भेलाले धनकुटामा प्रदेशस्तरीय टिचिङ हस्पिटल स्थापना गर्ने निर्णय गरेको छ ।

भेलामा धनकुटा–६ फोक्ल्याण्ड टापु नजिकैको सिएमए क्याम्पसको ४७ रोपनी ३ आना १ पैसा जग्गामा टिचिङ हस्पिटलका लागि व्यवस्था गर्ने सहमति बनेको छ । सो जग्गा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको नाममा दर्ता रहेको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले जानकारी दिए । सिएमए क्याम्पसमा खाली जग्गा पनि रहेको र भौतिक पूर्वाधारहरू पनि प्रशस्त भएकाले तत्कालीन अवस्थामा पठन–पाठन शुरु गर्नेदेखि प्रशासनिक कामको लागि सहज हुने उनले बताए ।

बाँकी अपुग जग्गाको लागि धनकुटा–७ मा नेपाल ट्रष्टको नाममा रहेको १ सय ९४ रोपनी जग्गा प्रयोगमा ल्याउने सहमति भएको छ । जहाँ अहिले निजामती आवासीय विद्यालय सञ्चालनमा रहेको छ । कुल १ सय ९४ रोपनी जग्गामध्ये विद्यालयले १ सय ३४ रोपनी तारबार गरी लिजमा भोगचलन गरिरहेको निजामती आवासीय माध्यमिक विद्यालय चुलीवनका प्रिन्सिपल सुरेश काफ्लेले बताए । थप जग्गा धनकुटा–७ को रेशम खेतीको ४७ रोपनी ९ आना जग्गालाई समेत टिचिङ हस्पिटलले प्रयोगमा ल्याउने सहमति भएको छ । प्रदेश सांसद् निरन राईले प्रदेश सरकारले प्रदेशस्तरको टिचिङ हस्पिटल स्थापना गर्ने तयारी गरेकाले धनकुटामा उक्त हस्पिटल स्थापना गर्न जग्गाा आवश्यक परेको हुँदा यो सहमति जुटाउनु परेको स्पष्ट पारे ।

त्यसैगरी प्रदेश सांसद् तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले छलफलको क्रममा सहमतिमा आएका जग्गाहरू कोशी लोकमार्गको नजिक, वातावरण अनुकूलन भएकोले टिचिङ हस्पिटल बनाउन सहमति जुटाउनु परेको बताए । उनले हस्पिटलको लागि सहभागी साथीहरूबाट अन्यत्रका स्थानहरू कर्मीटार, पारिपात्ले, हिले, सुकेपोखरी, कारगारको जग्गा, घरेलुको औद्योगिक ग्रामको जग्गा आदिका विषयमा छलफल भए पनि सबैको सहमति यिनै जग्गामा भएकाले प्रदेश सरकारमा तत्काल सिफारिस गर्ने बताए । प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेश सांसद्हरू आर्सी तुम्बा, कुसुमकुमारी श्रेष्ठ, लीला सुब्बा, बिना राईलगायतले पनि सर्वपक्षीय छलफलबाट सहमतिमा आएकाले तत्काल कार्यान्वयनको चरणमा लानु पर्नेमा जोड दिए ।

सो अवसरमा वडा नं. ७ का वडाध्यक्ष गङ्गाबहादुर आठपहरिया, पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नागरिक समाजका अगुवा सुन्दरबाबु श्रेष्ठ, सदस्य सुजनभाइ जोशी, ज्येष्ठ नागरिक सङ्घ धनकुटा नगरका अध्यक्ष टीकाप्रसाद घिमिरे, नेकपाका जिल्ला सचिव ऋषिराम ढुङ्गाना, हिलेका लालचन्द्र गोङ्वा, नेपाली काङ्ग्रेसका विजयसन्तोषी राई, रेडक्रस प्रदेश अध्यक्ष नगेन्द्र पोखरेल, युवा नेता दिनेश राई, सङ्घीय समाजवादीका बलबहादुर राईलगायतले पनि स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको सिएमए क्याम्पस, रेशम खेती र चुलीवनको ट्रष्टको जग्गा उपयुक्त हुने धारणा राखेका छन् । छलफलमा सहमतिमा आएका जग्गाहरू जो जसको स्वामित्वमा छ, त्यस अन्तर्गत तत्काल प्रक्रिया अघि बढाइने प्रजिअ घिमिरेले जानकारी दिएका छन् । कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत रामनारायण श्रेष्ठले गरेका थिए ।