इनरुवा /  इनरुवा अस्पतालमा थुप्रिएको फोहोर स्थानीय युवाहरुले उठाएका छन् ।  ब्लाष्टखवरले आज समाचार छापे पछि स्थानीयले फोहोर उठाएका हुन ।
इनरुवा इभेन्ट म्यानेजमेन्टका राकेश निरौला, सुशान्त बस्नेतका साथै सामाजिक अभियान्ता दिनेश लम्सालसहितको युवा टोलीले अस्पतालमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरेको छ ।

समाचार प्रभाव

लामो समयदेखि अस्पताल परिषरमा थुपारिंदै आएको फोहोर उठाउन अस्पताल प्रशासनले चासो नदिंदा सो क्षेत्र दुर्गन्धित बन्नुका साथै आवतजावत गर्न नाक थुन्नु पर्ने अवस्था सृजना भएको थियो ।
अस्पतालजन्य फोहोर आफैंमा हानिकारक हुने भएपनि सोको उचित व्यवस्थापनका सवालमा अस्पतालले चासो नदिएकाले आफुहरु लागेर फोहोर संकलन गरी व्यवस्थापनको कार्यमा जुटेको निरौलाले बताए ।
फोहोर संकलनमा युवाहरु स्वतस्फूर्त जुटेका थिए भने ट्याक्टरको निःशुल्क बन्दोवस्ती विष्णु कटवालले मिलाएका थिए ।
अस्पतालका कर्मचारीहरुले भने आफुहरुले उठाउने तरखरमा लागेको फोहोर युवाहरुले उठाएको बताएका छन् । अस्पतालले काम नगरेको जस्तो सन्देश प्रवाह हुनेभए पनि फोहोरमैला उठाउने कार्यमा स्थानीयको सहभागितालाई उनीहरुले सराहनीय कार्य भनेका छन् ।

अस्पताल व्यवस्थापन समितिले अस्पतालका समस्याको दीर्घगामी समाधानका लागि सरोकारवालाहरुसँग छलफल गरिने जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारीले अस्पताल प्रशासन, कर्मचारीसहित सरोकारवालासँगको छलफल पछि ठोस रणनीति बनाएर अघि बढिने बताए ।