सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्याको घटनामा एक संकास्पद व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कुमारप्रसाद मैनालीले बताए । प्रहरीले पक्राउ परेको व्यक्तिको पहिचान खुलाएको छैन ।

प्रधानाध्यापक राईमाथि बिहीबार राति गोली प्रहार भएको हो । विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।

उनी सिलिचोङ गाउँपालिका–५ याफुका हुन् । उनी एक वर्षदेखि करारमा कार्यरत थिए । घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परीक्षण गर्न जिल्ला अस्पताल सङ्खुवासभा ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस