धरान । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटले ‘रोड टु युएफसी’ को पाँचौँ संस्करणको फाइनलमा प्रवेश गरेका छन् । 

चीनको साङ्घाईमा जारी प्रतियोगिताको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डकलाई पराजित गर्दै ढाँटले फाइनल यात्रा तय गरेका हुन् । उनी ‘रोड टु युएफसी’ को फाइनलमा पुग्ने पहिलो नेपाली एमएमए खेलाडी बनेका छन् ।

‘बझाङ्गी बाघ’ को उपनामले चिनिने ढाँटले अब उपाधिका लागि हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा पनि जित हात पारे उनले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौताको अवसर पाउनेछन् ।

बान्टमवेट विधामा प्रतिस्पर्धा गर्दै आएका ढाँटले हालसम्म ११ व्यावसायिक खेल खेलेका छन् । त्यसमध्ये १० खेलमा उनी विजयी भएका छन् भने एक खेलमा पराजित भएका छन् । उनको एकमात्र हार सन् २०२३ मा इस्माइल खानसँग भएको थियो । त्यसयता भने उनले लगातार जित निकाल्दै आएका छन् ।

गतवर्ष भारतको नोएडामा भएको ‘म्याट्रिक्स फाइट नाइट–१७’ को बान्टमवेट उपाधि जितेपछि ढाँट अन्तर्राष्ट्रिय एमएमए वृत्तमा थप चर्चामा आएका थिए । 

उनले भारतीय खेलाडी चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए । त्यससँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।

‘रोड टु युएफसी’ को पाँचौँ संस्करणमा पनि ढाँटले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । गत मेमा मकाउमा भएको क्वार्टरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

सेमिफाइनलमा मर्डकलाई हराएर फाइनल पुगेपछि ढाँटको युएफसी यात्राको सम्भावना थप बलियो भएको छ । अब फाइनलको नतिजाले उनको व्यावसायिक युएफसी यात्राको ढोका खुल्ने–नखुल्ने तय गर्नेछ ।

नेपाली एमएमएमा पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा प्रभाव जमाउँदै आएका ढाँटका लागि फाइनल केवल उपाधिको प्रतिस्पर्धा मात्र नभई विश्वकै ठूलो एमएमए मञ्चमा प्रवेश गर्ने अवसरसमेत बनेको छ ।