विराटनगर । भारतको जोगबनीस्थित ल्यान्ड पोर्टमा कार्यरत भन्सार एजेन्टहरूले सुरु गरेको ‘पेनडाउन’ (काम ठप्प) को प्रत्यक्ष असर विराटनगर भन्सारको राजस्व सङ्कलनमा परेको छ । आन्दोलनका कारण दुई दिनदेखि मालवाहक सवारीको जाँचपास रोकिँदा विराटनगर भन्सारले करिब २२ करोड रुपैयाँ राजस्व गुमाएको छ ।
विराटनगर भन्सारमा दैनिक औसत ११ करोड रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । तर भारतीय पक्षको आन्दोलनका कारण सोमबार र मङ्गलबार मालसामान बोकेका सवारी साधन नेपाल प्रवेश गर्न पाएनन् ।
जसका कारण भन्सारको दैनिक राजस्व असुली शून्यप्रायः भएको भन्सार कार्यालयले जनाएको छ । जोगबनीस्थित भारतीय ल्यान्ड पोर्टमा अहिले एक हजारभन्दा बढी मालवाहक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।
भारतीय भन्सार एजेन्टहरूले भन्सारको कम्प्युटर प्रणाली (सर्भर) प्रभावकारी बनाउनुपर्ने र जाँचपास भइसकेका सवारीलाई समेत सीमा सुरक्षा बल (एसएसबी) ले पुनः जाँचका नाममा सास्ती दिने गरेको भन्दै काम ठप्प पारेका हुन् । भारत सरकारको अधीनमा रहेको ल्यान्ड पोर्ट अथोरिटी अफ इन्डिया (एलपीएआई) ले जोगबनी बन्दरगाह सञ्चालन गर्दै आएको छ ।
नेपाली भन्सार एजेन्टहरूका अनुसार भारतीय भन्सारमा प्रक्रिया ढिलो हुँदा नेपालतर्फ आउने मालवाहक सवारीले अनावश्यक पार्किङ शुल्कसमेत तिर्नुपरेको छ ।
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकीनन्दन शर्माले भारतीय पक्षको अवरोधका कारण भारत र तेस्रो मुलुकबाट हुने आयात प्रत्यक्ष प्रभावित भएको र त्यसको सिधा असर नेपालको राजस्वमा देखिएको बताए । “जाँचपास भइसकेपछि पनि एसएसबीले पुनः जाँचका नाममा समय लगाइदिँदा समस्या झन् जटिल बनेको छ”–उनले भने ।
विराटनगर भन्सारका प्रमुख उमेश श्रेष्ठले दुई दिनदेखि भारतीय भन्सारबाट जाँचपास भएर मालवाहक सवारी नेपाल नआएको पुष्टि गरे । उनले भारतीय एजेन्टहरूले सेवा छिटोछरितो बनाउन माग राख्दै आन्दोलन गरेको जानकारी आएको बताए ।
“भारतीय एजेन्टहरूले औपचारिक रूपमा हामीसँग माग पेस नगरेकाले तत्काल वार्ता गर्ने अवस्था छैन” श्रेष्ठले भने, “तर बुधबारदेखि काम नियमित हुने आश्वासन प्राप्त भएको छ ।” यो अवरोधले नेपालको भन्सार राजस्व र औद्योगिक कच्चा पदार्थको आपूर्ति कति हदसम्म सीमापारको प्रशासनिक प्रक्रियामा निर्भर छ भन्ने कुरालाई पुनः उदाङ्गो पारेको छ ।
भारतीय भूभागमा हुने सामान्य प्राविधिक वा प्रशासनिक अवरोधले पनि नेपालको व्यापारिक गतिविधिमा ठूलो धक्का लाग्ने गरेको छ ।
पछिल्ला वर्षहरूमा विराटनगर भन्सारले राजस्वको लक्ष्य भेट्टाउन सङ्घर्ष गरिरहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ४१ अर्ब ५५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिए पनि वैशाखसम्म करिब २७ अर्ब ४० करोड रुपैयाँ मात्र सङ्कलन भएको छ । यस्तो न्यून सङ्कलनको अवस्थामा दुई दिनमै २२ करोड रुपैयाँ गुम्नुले अर्थतन्त्रमा थप चुनौती थपेको उद्यमीहरूको बुझाइ छ ।