विजयपुर । सुनसरीको धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित भएको विद्यालय प्रशासनले जनाएको छ ।
शिक्षक व्यवस्थापनका लागि पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएको विद्यालयका प्रधानाध्यापक होमनाथ दाहालले बताएका छन् । मंगलबार धरान–६ को वडा कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रधानाध्यापक दाहालले माध्यमिक तहमा सामाजिक विषय अध्यापन गराउने शिक्षकको अभावमा पठनपाठनमा समस्या भएको बताए । सामाजिक विषयका शिक्षक गंगाप्रसाद धमला अवकाश भएको छ महिनाभन्दा बढी समय बितिसक्दा समेत नगरपालिकाले नयाँ शिक्षक व्यवस्थापन नगरेको उनको भनाइ छ ।
विद्यालयले शिक्षक नियुक्तिका लागि विज्ञापनसमेत प्रकाशित गरे पनि परीक्षा तथा छनोट प्रक्रिया अघि बढाउन नगरपालिकाले अनुमति नदिएको दाहालले बताए । लेखापाल पदमा समेत साढे तीन महिनाअघि विज्ञापन गरे पनि हालसम्म नियुक्ति गर्न नसकिएको उनको भनाइ छ ।
धरान उपमहानगरका कार्यबाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले शिक्षक सेवा आयोगमा माग गरेकाले नियुक्त गर्न नमिल्ने जिकिर गरे । उनले विज्ञापनका विषयमा अनभिज्ञता प्रकट गरे । उनले भन्, ``विज्ञापनको थाहा छैन । त्यसो भए पुनः विज्ञापन गर्नुपर्छ ।´´ उनका अनुसार शिक्षक आयोगमा माग गरिएको छ ।
वडा कार्यालय र वडाध्यक्षको पहलमा केही शिक्षक व्यवस्थापन गरिए पनि उनीहरूको तलबसमेत लामो समयदेखि रोकिएको छ । धरान–६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले नगरपालिकाले शिक्षा क्षेत्रमा समेत राजनीति गरेको आरोप लगाएका छन् । विद्यालयमा आवश्यक शिक्षक नियुक्तिका लागि आफूहरूले पहल गर्दा पनि नगरपालिकाबाट सहयोग नभएको उनको भनाइ छ । शिक्षा र विकासका विषयमा स्थानीय सरकार गम्भीर बन्नुपर्ने भन्दै उनले विद्यार्थीको भविष्यमा खेलवाड नगर्न आग्रह गरे । वडाध्यक्ष भट्टराईले विद्यालय व्यवस्थापन समिति लगायतलाई दोष देखाएर शिक्षक नियुक्तिको जिम्मेवारीबाट नगर पन्छिन खोजेको आरोप लगाए । विद्यालयमा शिक्षक तथा लेखापालको अभाव तत्काल समाधान गर्नुपर्ने उनको माग छ ।
नगरपालिकाको ढिलासुस्तीका कारण विद्यालयको पठनपाठन तथा स्थानीय विकासमा असर परेको भन्दै पत्रकार सम्मेलनमार्फत समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । वडाध्यक्ष भट्टराईले धरान–६ मा नदीजन्य सामग्रीको अभावका कारण स्थानीयवासीसमेत समस्यामा परेको बताए । खोलामा थुप्रिएको नदीजन्य सामग्री व्यवस्थापन तथा कानुनअनुसार आवश्यक सामग्री उपलब्ध गराउन नगरपालिकासँग अनुरोध गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
उनका अनुसार केही स्थानमा खोलाजन्य सामग्री थुप्रिँदा खानेपानीका मुहान पुरिने तथा खेतीपातीमा समेत असर पर्ने अवस्था सिर्जना भएको छ । बस्ती तथा स्थानीयवासीको सुरक्षाका लागि खोलाको आवश्यक व्यवस्थापन गर्नुपर्ने भए पनि नगरपालिकाले त्यसतर्फ पर्याप्त ध्यान नदिएको उनले आरोप लगाए ।
वडाध्यक्ष भट्टराईले वडा क्षेत्रका विकास बजेट कटौती गर्ने चेतावनीसमेत दिइएको आरोप लगाए । “वडाको बजेट पनि हेर्नुपर्छ” भन्ने जवाफ नगरपालिकाबाट आउने गरेको बताउँदै उनले बजेट कटौती भए मूल्यांकन जनताले गर्ने बताए । उनले धरान–६ पानबारी क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा नराखेको समेत गुनासो गरे । खोलाजन्य सामाग्रीका विषयमा कार्यबाहक नगर प्रमुख बेघाले वडाको मागअनुसार उपलब्ध गराएको बताउँदै भन्, `वडाध्यक्षको आरोप निराधार हो ।´