विजयपुर । सुनसरीको धरान ६ स्थित सरस्वती माध्यमिक विद्यालय, पानबारीका कक्षा ९ र १० का विद्यार्थीहरूका लागि साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार सहयोगी नेपालद्वारा आयोजित कार्यक्रममा साइबर अपराधका विभिन्न स्वरूप, यसबाट हुन सक्ने जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको सुरक्षा तथा साइबर अपराधबाट जोगिने उपायका विषयमा विद्यार्थीहरूलाई जानकारी प्रदान गरिएको विद्यालयका शिक्षक कुमार धमलाले बताए ।

कार्यक्रमको सहजीकरण क्षितिजा शिवाले गरेकी थिइन् । उनले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको महत्त्व पनि बढ्दै गएको भन्दै सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोग गर्दा सावधानी अपनाउन विद्यार्थीहरूलाई आग्रह गरिन् । 

विद्यार्थीहरूमा साइबर अपराधसम्बन्धी आवश्यक ज्ञान, सुरक्षा सचेतना र सुरक्षित डिजिटल व्यवहार विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।