विजयपुर । पत्रकार भोजराज श्रेष्ठद्वारा लिखित पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ सार्वजनिक गरिएको छ ।
आइतबार धरानमा धरान रिडर्स ग्रुपले आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । सुनसरीको मिडिया क्षेत्रबारे सात वर्षको शोध तथा अनुसन्धानपछि पुस्तक प्रकाशन गरेको लेखक श्रेष्ठले बताए । कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बाले पुस्तकबारे परिचर्चा गरे । उनले पुस्तकमा सुनसरीको पत्रकारिता तथा सञ्चार क्षेत्रबारे महत्त्वपूर्ण जानकारी समेटिएको बताए । उनले पुस्तकलाई सुनसरीको पत्रकारिताको इतिहासका रूपमा लिन सकिने उल्लेख गरे ।
प्रा. डा. टङ्कप्रसाद न्यौपानेले पुस्तक पठनीय तथा सङ्ग्रहनीय रहेको बताए । आगामी संस्करणमा विषयवस्तु थप गर्नुका साथै भएका त्रुटिहरू सच्याउँदै लैजानुपर्ने उनको सुझाव थियो । कार्यक्रमका प्रमुख अतिथि धरानका पूर्व नगरप्रमुख तिलक राईले पुस्तक ऐतिहासिक दस्तावेजका रूपमा महत्त्वपूर्ण रहेको बताए । पुस्तकमा सात खण्ड छन् । पुस्तक प्रकाशनमा सहयोग गर्ने सुरेन्द्र घिमिरे, हरेराम कर्मचार्य र राजु श्रेष्ठलाई कार्यक्रममा कदरपत्रसहित सम्मान गरिएको थियो । पत्रकार श्रेष्ठ ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक हुन् । उनी धरानमा रहेर विगत १८ वर्षदेखि पत्रकारिता पेसामा आबद्ध छन् । कार्यक्रममा जिल्लाका कवि, लेखक, प्राध्यापक तथा पत्रकारहरूको उपस्थिति थियो ।