धरान । सुनसरीकाे देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएकाे विवादपश्चात् भएकाे गाेलीकाण्डका कारण सुनसरीकाे अधिकांश क्षेत्रमा लगाइएकाे कर्फ्यु एवम् निशेधाज्ञा पूर्ण रूपमा हटाइएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले साेमबार एक विज्ञप्ति जारी गरी वातावरण सहज भएकाे भन्दै कर्फ्यु तथा निशेधाज्ञा खुलाइएकाे जनाएकाे छ । विवादपश्चात् भएकाे गाेलीकाण्डमा २ युवाकाे ज्यान गएकाे थियाे । जसमा २४ वर्षका ओमप्रकाश मेहता र २१ वर्षका जयप्रकाश मेहताकाे ज्यान गएकाे थियाे ।
दुई समूहबीचकाे विवादले उग्र रूप लिएकाे थियाे । जसले गर्दा प्रशासनले बाध्य भई कर्फ्यु एवम् निशेधाज्ञा जारी गरेकाे थियाे । कप्तानगञ्ज चाेकमा राखिएकाे झण्डाकाे विवादसँगै बाेलबमकाे समयमा डिजे बजाएकाे निहुँमा उत्पन्न विवाद साम्य नभएपछि कर्फ्यु आदेश जारी गर्नुपरेकाे थियाे ।
हाल सुनसरी सामान्य अवस्थामा फर्किँदै गएकाे छ । याे घटना बढ्दै जाँदा मधेश प्रदेशका केही जिल्लामा पनि तनाव बढेकाे थियाे । सिरहामा १५ वर्षीय गणेश यादवकाे ज्यान गएकाे थियाे । जसमा मानवीय तथा भाैतिक क्षति पुगेकाे थियाे । आक्राेसित भीडले सिरहाकाे एउटा सपिङ मल पनि जलाएका थिए ।