विजयपुर । सुनसरीको धरान–५ आँपटारमा भाइको रिसइबीका कारण दाजुमाथि धारिलो प्रहार भएको खुलेको छ ।
इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर बबिन राईका अनुसार धरान–५ का २१ वर्षीय निरकमल राईमाथि साउन १६ गते स्थानीय हनक भनिने सुदीप राईले खुकुरी प्रहार गरेका थिए । घटनामा घाइते भएका निरकमलको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको इन्स्पेक्टर राईले जानकारी दिए । इन्स्पेक्टर राईले भने, “आक्रमणमा संलग्न मुख्य आरोपी पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानमा भाइसँगको पुरानो रिसइबीका कारण आक्रमण गरेको बयान दिएको छ ।” अन्य कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।