विजयपुर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् ।


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, मोरङ, सुनसरी र धनकुटाका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । झापाको कनकाई नगरपालिका–२ मा इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा भारतको बिहार राज्य, अररिया जिल्लाका २८ वर्षीय मो. एजवाल र २७ वर्षीय अझर अन्सारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १०२ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर तथा प्रतिबन्धित औषधिका १४ हजार ६ सय ५० ट्याब्लेट बरामद गरिएको छ ।


मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलमा इलाका प्रहरी कार्यालय पथरीले गरेको कारबाहीमा पथरीशनिश्चरे–१ का २७ वर्षीय मिका खत्री र सोही स्थानकी २७ वर्षीया बन्दना माखिम पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रतिबन्धित औषधिका ४७ क्याप्सुल र नगद १३ हजार ७७५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।


सुनसरीको इटहरी उपमहानगरपालिका–४ पानधारेचोकमा लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई इटहरीमा डेरा गरी बस्दै आएका २५ वर्षीय अनिश लामालाई पक्राउ गरेको छ। उनको साथबाट ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।


यस्तै, धनकुटाको चौबिसे गाउँपालिका–४ मा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले ४८ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको ८०४ किलोग्राम गाँजा बरामद गरेको छ। सोही घटनामा छथरजोरपाटी गाउँपालिका–४ घर भई चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा र चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजा तथा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।