धरान । स्मार्टफोन, सामाजिक सञ्जाल र अनियन्त्रित डिजिटल सामग्रीको बढ्दो पहुँचले किशोरकिशोरीलाई लागूपदार्थको प्रयोगतर्फ धकेलिरहेको एक अध्ययनले देखाएको छ । विश्वकै प्रतिष्ठित चिकित्सा जर्नल दी ल्यान्सेट रिजनल हेल्थ साउथइष्ट एशिया (The Lancet Regional Health–Southeast Asia) मा प्रकाशित बहुकेन्द्रीय अध्ययनले विद्यालय तहका किशोरकिशोरीमा लागूपदार्थको जोखिम बढ्नुमा डिजिटल एक्सपोजर सबैभन्दा प्रभावशाली परिवर्तन गर्न सकिने कारकमध्ये एक भएको निष्कर्ष निकालेको हो ।

जर्नलमा उल्लेख भएअनुसार भारतका ६ जिल्लाका १ सय ८ सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ६ हजार १ सय ६८ जना १० देखि १९ वर्ष उमेर समूहका विद्यार्थीमाथि गरिएको अध्ययनमा २१.४ प्रतिशत किशोरकिशोरी मध्यम्देखि उच्च जोखिममा रहेको भेटिएको छ । तीमध्ये १०.३ प्रतिशत मध्यम् जोखिम र ११.१ प्रतिशत उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को मदिरा, धुम्रपान तथा लागूपदार्थ संलग्नता परीक्षण (एसिस्ट) प्रयोग गरी धुम्रपान, मदिरा, गाँजा, इनहेल्यान्ट, औषधिजन्य दुरुपयोगलगायत विभिन्न लागूपदार्थको जोखिम मूल्याङ्कन गरेका थिए ।

मोबाइलको प्रयोग बढेसँगै जोखिम पनि बढ्यो

अध्ययनअनुसार डिजिटल माध्यमको उच्च सम्पर्कमा रहेका किशोरकिशोरीमा लागूपदार्थ प्रयोगको जोखिम उल्लेखनीय रूपमा बढी देखिएको छ । उच्च डिजिटल एक्सपोजर भएका विद्यार्थीमा लागूपदार्थको उच्च जोखिममा पर्ने सम्भावना ४४ प्रतिशत बढी रहेको छ भने मध्यम् डिजिटल एक्सपोजर भएकामा पनि जोखिम २९ प्रतिशत बढी देखिएको छ ।

भारतका ख्यातिप्राप्त अनुसनधानकर्ता यु. वेङ्कटेशा, महाश्वेता चक्रवर्ती, पलानीवेल चिन्नाकलि, कृपाल जोशी, सुदीप भट्टाचार्य, अरविन्द पी. गान्धी, रश्मी अग्रवाल, ऋचा त्रिपाठी, विनोद राजेन्द्र र आनन्द मोहन दीक्षितले उक्त अध्ययन गरेका थिए । 

अनुसन्धानकर्ताका अनुसार सामाजिक सञ्जाल, भिडियो प्लेटफर्म, अनलाइन गेम, प्रभावशाली व्यक्तिको सामग्री तथा इन्टरनेटमार्फत् लागूपदार्थलाई सामान्य व्यवहारका रूपमा प्रस्तुत गरिने सामग्रीले किशोरकिशोरीको धारणा परिवर्तन गरिरहेको छ । यसले खराब सङ्गत, जिज्ञासा र प्रयोग गर्ने सम्भावना बढाउने अध्ययनको निष्कर्ष छ ।

सजिलै पाइने लागूपदार्थ अझ ठूलो जोखिम

डिजिटल प्रभावपछि अर्को महŒवपूर्ण कारण भने लागूपदार्थको सहज उपलब्धता रहेको अध्ययनले देखाएको छ । आफू वरपर लागूपदार्थ सजिलै उपलब्ध भएको अनुभव गरेका किशोरकिशोरीमा उच्च जोखिममा पर्ने सम्भावना दुई गुणाभन्दा बढी रहेको पाइएको छ ।

यस्तै लागूपदार्थप्रति सकारात्मक धारणा, विद्यालयको वातावरण, सामाजिक–आर्थिक अवस्था तथा व्यक्तिगत व्यवहारले पनि जोखिम बढाउन भूमिका खेलेको अनुसन्धानले देखाएको छ ।

अध्ययनमा समेटिएका क्षेत्रमध्ये असमको गुवाहाटी र झारखण्डको देवघरका विद्यालयमा सबैभन्दा धेरै जोखिम देखिएको छ । गुवाहाटीका ४२.३ प्रतिशत र देवघरका ४१.३ प्रतिशत विद्यार्थी मध्यम् वा उच्च जोखिममा रहेको पाइयो । यसको विपरीत महाराष्ट्रको नागपुरमा यो दर ७.१ प्रतिशत र पुडुचेरीमा ०.१ प्रतिशत मात्र थियो ।

अनुसन्धानकर्ताले यी क्षेत्रीय अन्तरमध्ये करिब ३७.९ प्रतिशत मात्र अध्ययनमा समेटिएका कारणले व्याख्या गर्न सकिएको र बाँकी अन्तर स्थानीय सामाजिक, सांस्कृतिक तथा संरचनागत कारणसँग सम्बन्धित हुनसक्ने उल्लेख गरेका छन् ।

नेपालका लागि पनि चेतावनी

अध्ययन भारतमा गरिएको भए पनि यसको सन्देश नेपालका लागि पनि उत्तिकै सान्दर्भिक देखिन्छ । नेपालमा पनि स्मार्टफोन, टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब र अनलाइन गेममा किशोरकिशोरीको बढ्दो समयसँगै विद्यालय तथा समुदायमा लागूपदार्थ प्रयोगको समस्या बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् । अझ धरान, इटहरी, विराटनगर, पथरीजसता सहरमा युवा विद्यार्थीहरू लागूऔषधको लतमा बढी देखिएको पाइन्छ । 

विशेषगरी सीमा क्षेत्रमा लागूपदार्थको सहज उपलब्धता, विद्यालय छोड्ने दर, साथीको प्रभाव र डिजिटल माध्यमबाट हुने प्रभावका कारण नेपालमा पनि यस्तै प्रवृत्ति देखिन सक्ने भएकाले समयमै रोकथामका कार्यक्रम आवश्यक रहेको अध्ययनले सङ्केत गरेको छ ।

के सुझायो अध्ययनले ?

अनुसन्धानकर्ताले किशोरकिशोरीलाई लागूपदार्थबाट जोगाउन केवल चेतनामूलक कार्यक्रम पर्याप्त नहुने बताएका छन् । विद्यालयमा डिजिटल साक्षरता, साथी–साथी कार्यक्रम, समुदायमा आधारित हस्तक्षेप, लागूपदार्थको पहुँच नियन्त्रण तथा विद्यालय स्वास्थ्य कार्यक्रममार्फत् प्रारम्भिक पहिचान र परामर्शलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

अध्ययनले आजका किशोरकिशोरीका लागि लागूपदार्थको जोखिम साथीभाइको लहलहै, खराब सङ्गतबाट मात्र होइन, मोबाइलको पर्दाबाट पनि सुरु हुन सक्छ भन्ने गम्भीर चेतावनी पनि दिएको छ ।

(https :// www. thelancet .com / journals / lansea/ article/ PIIS2772 - 3682 ( = 26 )00106- X / fulltext  यो लिङ्कमा गएर विस्तृत अध्ययन रिपोर्ट हेर्न सकिनेछ ।)