विजयपुर । सुनसरीको देवानगन्जमा भएको घटनापछि सिर्जित तनावपूर्ण अवस्थाको समाचार सङ्कलनका क्रममा रिपोर्टिङमा खटिएका पत्रकार लुकमान अन्सारीमाथि आन्दोलनरत पक्षबाट हातपात हुनुका साथै उनले प्रयोग गरेको मोटरसाइकल तोडफोड गरिएको छ ।


सोमबार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण भएको जनाएको छ । शाखाका सचिव विनय बाह्रकोटीद्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत पत्रकारमाथि भएको दुर्व्यवहार, कुटपिट र सम्पत्तिमा क्षति पुर्‍याइएको घटनाको कडा शब्दमा भर्त्सना तथा निन्दा गरिएको छ ।


महासंघका अनुसार देवानगन्ज घटनापछि सुनसरीका सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलता बढिरहेका बेला समाचार सङ्कलनमा खटिएका पत्रकारहरू थप जोखिममा परेका छन् । सामान्य विवादले सामाजिक मुठभेडको रूप लिन सक्ने अवस्थाबीच सत्यतथ्य सूचना सङ्कलन गर्ने पत्रकारमाथि भएको आक्रमणले प्रेस स्वतन्त्रतामाथि नै चुनौती थपिएको महासंघको ठहर छ ।


महासंघले पत्रकार तथा सञ्चारकर्मीहरूलाई संवेदनशील विषयको रिपोर्टिङ गर्दा उच्च व्यावसायिकता, संयमता र जिम्मेवारीका साथ समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । धार्मिक, सामाजिक तथा सामुदायिक सद्भावमा असर पुग्ने खालका सामग्री प्रकाशन वा प्रसारण नगर्न पनि महासंघले अपिल गरेको छ ।


साथै, सामाजिक सद्भाव, सहिष्णुता र एकताको संरक्षण नै जिम्मेवार पत्रकारिताको आधार भएको उल्लेख गरेको छ । महासंघले कार्यक्षेत्रमा खटिने पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासनसँग प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन र घटनामा संलग्नमाथि आवश्यक कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।