विजयपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले जिल्लाका प्रमुख प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।


मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ भने उनको स्थानमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाएको छ । त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ । उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाइएको छ ।  यसैगरी, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई सुनसरी पठाउने निर्णय गरिएको छ ।


कप्तानगञ्जमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ भने उनको स्थानमा प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो । घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए । घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।