विजयपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
आइतबार प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनका कारण सोमबार दिउँसो स्थिति तनावपूर्ण बनेको थियो । तर, अहिले अवस्था नियन्त्रणमा रहेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए । सोमबार दिउँसो प्रदर्शनकारीले सुनसरीका विभिन्न स्थानमा तोडफोड, आगजनी तथा भौतिक आक्रमण गरेका थिए । लामिछानेका अनुसार दिउँसो केही समय तनाव भए पनि अहिले स्थिति सामान्य रहेको छ । उनले भने, “दिउँसो तनाव भए पनि अहिले स्थिति नियन्त्रणमा छ ।” उनका अनुसार प्रदर्शनका क्रममा दुई–तीन वटा पसलमा तोडफोड हुनुका साथै मोटरसाइकल तथा स्कुटरमा आगजनी भएको छ ।
प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । घटनामा गोली लागेका सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।