विजयपुर । सुनसरीको धरान १४ स्थित विजयपुर दरबार क्षेत्रमा किरात राई यायोक्खाले राखेको चिण्डो अज्ञात समूहले हटाएको विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमा वार्ता र संवादमार्फत विवाद समाधान गर्ने प्रयास भइरहेका बेला चिण्डो हटाइएको घटनाले वातावरण थप असहज बनाउन सक्ने भन्दै समितिले दुःख व्यक्त गरेको छ । समितिका प्रवक्ता एवं वार्ता समिति संयोजक अमित थेबेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विजयपुर दरबार परिसरसँग सम्बन्धित विवाद समाधानका लागि आफूहरू निरन्तर संवादमा रहेको उल्लेख गरिएको छ ।
समितिले चिण्डो हटाइएको घटनाले सहमतिको वातावरण प्रभावित हुन सक्ने जनाएको छ। साथै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।
विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति र किरात राई यायोक्खाबीच साउन ३ गते सुनसरी क्षेत्र नम्बर १ का सांसद हर्कराज राईको पहलमा पहिलो चरणको वार्ता सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।
वार्तामा विजयपुर दरबार क्षेत्रको संरक्षण गर्दै किरात राई यायोक्खाले निर्माण गरेका संरचनाहरू उपयुक्त स्थानमा व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो। तर, त्यसबारे सहमति हुन नसकेको जनाइएको छ।
वार्ताको प्रक्रिया चलिरहेकै अवस्थामा विजयपुर दरबार क्षेत्रमा रहेको चिण्डो अज्ञात समूहले हटाएको भन्दै समितिले घटनाप्रति दुःख व्यक्त गरेको छ। यस्ता गतिविधिले आपसी विश्वास कमजोर बनाउनुका साथै विवाद समाधानको प्रयासमा नकारात्मक असर पार्ने समितिको भनाइ छ।
संघर्ष समितिले कुनै पनि पक्षलाई उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन आग्रह गर्दै वार्ता, संवाद र आपसी समझदारीबाटै दीर्घकालीन समाधान सम्भव हुने जनाएको छ। साथै, आन्दोलनलाई बदनाम गर्ने वा अनावश्यक रूपमा विवाद चर्काउने गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेको छ।
समितिले विजयपुर दरबार परिसरको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्त्व संरक्षण गर्दै सबै सरोकारवालाको सहकार्यमा विवाद समाधान गरिने प्रतिबद्धता विज्ञप्तिमार्फत जनाएको छ।