विजयपुर । राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेशले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको प्रमाणपत्र उपलब्ध गराउँदा तोकिएकोभन्दा बढी शुल्क नलिन निर्देशन गरेको छ ।


बिहीबार कार्यालयका निर्देशक प्रकाश कुमार खरेलले सूचना जारी गरी ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल (टिएमपी) प्रमाणपत्र उपलब्ध गराउँदा तोकिएकोभन्दा बढी शुल्क नलिन सबै विद्यालयलाई निर्देशन दिएका छन् । कार्यालयले प्रमाणपत्रका लागि प्रति विद्यार्थी १ हजार ५ सयभन्दा बढी रकम असुल नगर्न आग्रह गरेको हो ।


कार्यालयका अनुसार केही विद्यालयहरूले प्रमाणपत्र वितरणको नाममा बोर्डले तोकेको शुल्कभन्दा बढी रकम लिइरहेको भन्दै ‘हेलो सरकार’ मा गुनासो परेपछि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई सचेत गराएको हो । सूचनामा निर्धारित शुल्कभन्दा बढी रकम असुल गर्नु नियमविपरीत हुने उल्लेख गरिएको छ । बढी शुल्क लिने कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको छ । साथै विद्यार्थी तथा अभिभावकलाई बोर्डले निर्धारण गरेको शुल्कबारे जानकारी राख्न र अनावश्यक रकम नतिर्न पनि आग्रह गरिएको छ । प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले सबै विद्यालयलाई बोर्डको निर्णय कार्यान्वयन गर्न तथा नियमविपरीत अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।