विजयपुर । कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले लामो समयदेखि निष्क्रिय रहेका सुनसरीका पाँचसहित सात सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
बिहीबार कार्यालयले सूचना जारी गर्दै विवरण अद्यावधिक नगरी लगातार निष्क्रिय रहेका सहकारी संस्थाहरूको दर्ता खारेजी गरेको जानकारी दिएको हो । कार्यालयले सहकारीलाई पटक–पटक सूचना जारी गरी आवश्यक कागजात तथा सफाइ पेश गर्न अवसर दिए पनि तोकिएको समयभित्र कुनै प्रतिक्रिया नआएपछि प्रदेश सहकारी ऐन, २०७६ को दफा ७३(२) बमोजिम दर्ता खारेज गरिएको जनाएको छ ।
कार्यालयका अनुसार दर्ता खारेज भएसँगै सहकारी संस्थाको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको छ । खारेज गरिएका सहकारीमा सुनसरीका दुहबीको निलकण्ठ कृषि सहकारी संस्था लिमिटेड, दुहबी ४ को आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था लिमिटेड, इटहरी १९ को जम्बी महिला कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी १६ को आदर्श कृषि सहकारी संस्था लिमिटेड र रामधुनी ८ को तिलकुने महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् । यस्तै, मोरङका सहकारीमा बेलबारी ११ को कोशीली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नवजागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् । कार्यालयले सम्बन्धित सहकारीका सञ्चालक, सदस्य तथा सरोकारवालालाई निर्णयबारे जानकारी गराउँदै कानुनी प्रक्रिया अनुसार थप कार्य अघि बढाइने जनाएको छ ।