विजयपुर । उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण विश्वविद्यालय अनुदान आयोगले गर्ने भएको छ ।


त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षाध्यक्षको कार्यालयले जारी गरेको सूचना अनुसार पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणसम्बन्धी आवेदन लिन बन्द गरेको जनाएको छ । 

त्रिविले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ तथा विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० मा भएको संशोधनपछि उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने अधिकार विश्वविद्यालय अनुदान आयोग (यूजीसी) लाई दिइएको हो । त्रिवि पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको समकक्षता निर्धारणको कार्य २०८३ साउन १ गतेदेखि विश्वविद्यालय अनुदान आयोगबाट हुने व्यवस्था लागू भएको जनाएको छ । केन्द्रले साउन १ गतेदेखि समकक्षतासम्बन्धी नयाँ आवेदन लिन बन्द गरेको पनि सूचनामा उल्लेख छ । अबदेखि विदेशी वा अन्य विश्वविद्यालयबाट प्राप्त उच्च शिक्षाको उपाधिको समकक्षता आवश्यक पर्ने सेवाग्राहीले विश्वविद्यालय अनुदान आयोगमार्फत प्रक्रिया अघि बढाउनुपर्नेछ ।