विजयपुर । धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले धरानमा ‘कोरा राइड–२०२६’ आगामी साउन २ गते (शनिबार) आयोजना हुने भएको छ ।
आयोजक पेड्लर्स धरान माउन्टेन बाइकिङ क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै राइड करिब ३० किलोमिटर दूरीको हुने जानकारी दिएको हो। क्लबका अध्यक्ष किसन मास्केका अनुसार पेड्लर्स धरानले सन् २०२४ देखि कोरा राइड आयोजना गर्दै आएको छ । यस वर्ष करिब ३०० भन्दा बढी राइडर सहभागी गराउने लक्ष्य राखिएको छ । सन् २०११ मा काठमाडौंबाट सुरु भएको कोरा राइड च्यारिटी साइकल अभियान अहिले देशका विभिन्न शहरमा सञ्चालन हुँदै आएको छ । अभियानअन्तर्गत धार्मिक तथा पर्यटकीय स्थललाई ‘चेक पोइन्ट’ बनाएर साइकल यात्रा सम्पन्न गरिनेछ ।
आयोजकका अनुसार कोरा राइडमार्फत कोशी प्रदेश सरकारले अघि सारेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८३’ अभियानलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । साइकल यात्रामार्फत प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै दिगो तथा वातावरणमैत्री पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्य रहेको बताइएको छ । राइड धरान–२ स्थित भानुचोकबाट सुरु भई धरान–८ स्थित लाङ्घाली सामुदायिक वनमा पुगेर समापन हुनेछ ।
सहभागी सबै राइडरलाई टी–सर्ट, मेडल र साइकल बफ प्रदान गरिनेछ । साथै विभिन्न स्थानमा खाना, खाजा, जुस, मोही तथा लस्सीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सुनसरी बाहिरबाट आउने सहभागीका लागि एक रातको आवास र रात्रीभोजनको समेत व्यवस्था गरिएको छ ।
सहभागीहरूले गोलाप्रथामार्फत विभिन्न पुरस्कार तथा उपहार प्राप्त गर्नेछन् । मुख्य आकर्षणका रूपमा एमटिबी गियर्सको सहयोगमा माउन्टेन बाइक पुरस्कार राखिएको छ । कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको उपस्थिति रहने आयोजकले जनाएको छ ।