विराटनगर । मोरङ कारागारका कैदीबन्दीले चार वर्षदेखि बुनेका मुडा र गलैँचा बिक्रीबापतको १ करोड ७ लाख रुपैयाँ अभिषेक गिरी र उनका सहयोगी सञ्जयकुमार मण्डलको खातामा जाने गरेको पाइएको छ ।
२०७९ देखि हालसम्म कैदीबन्दीले बनाएका मुडा बिक्रीको उक्त ठूलो रकम गिरी र उनका सहयोगीहरूको खातामा जम्मा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो । कारागारका कैदीबन्दीले उत्पादन गरेका मुडा र गलैँचा काठमाडौँका व्यापारी विजय कामत र उनका छोरा अभिषेक साह तथा चितवनका व्यापारी डिल्लीराम पन्तले खरिद गर्ने गरेका थिए । उनीहरूले सामान खरिद गरेबापतको भुक्तानी गिरी र सहयोगी मण्डलको खातामा पठाउने गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार व्यापारी साहले ५५ लाख र पन्तले ५२ लाख रुपैयाँ गिरी र उनले तोकेका व्यक्तिहरूको खातामा हालिदिएका छन् ।
‘ब्लाष्ट’ लाई प्राप्त बैङ्क भौचरअनुसार उक्त रकम गिरीको नेपाल इन्भेस्टमेन्ट बैङ्क, उनका सहयोगी सञ्जय मण्डलको सिटिजन्स बैङ्क र कामना सेवा विकास बैङ्कको खातामा जम्मा भएको देखिएको छ । विवरणअनुसार सन् २०२६ जुनसम्ममा मात्र गिरी र उनका सहयोगीको खातामा २४ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ । व्यापारी साहले एनएमबी बैङ्कको खातामा पटक–पटक ठूलो रकम पठाएको देखिएको छ । उनले २०२४ अप्रिल ३ मा चार लाख ११ हजार ३ सय ८० र मार्च २२ मा ४ लाख ४९ हजार रुपैयाँ पठाएका छन् ।
यस्तै आइपिएसमार्फत् फेब्रुअरी १५ मा चार लाख ५४ हजार पाँच सय र मार्च ४ मा चार लाख ३१ हजार ४ सय ८० रुपैयाँ कुमारी बैङ्कमार्फत् जम्मा गरिदिएको भौचर सुरक्षित छ । प्राप्त विवरणअनुसार सञ्जयकुमार मण्डलको सिटिजन्स बैङ्कको खातामा चार लाख ४९ हजार ३ सय ६० रुपैयाँ जम्मा भएको छ । सन् २०२४ जुन ११ मा उक्त रकम अभिषेक साहले जम्मा गरिदिएको देखिन्छ । गिरी र मण्डल पछिल्लो समय ठेक्कापट्टामा समेत साझेदार थिए । मण्डल नेपाली काङ्ग्रेस कटहरी–२ का वडा सभापतिसमेत हुन् । यो रकम मुडा बिक्री र कैदीबन्दीको गर्मी भत्ताबापतको रकम असुली भएको कारागारको ‘ए ब्लक’ आन्तरिक प्रशासनको दाबी छ ।
यस विषयमा व्यापारी साहले थप प्रतिक्रिया दिन अस्वीकार गर्दै अनुसन्धान गर्ने निकायमा सबै कुरा बोलिसकेको बताए । “अहिले म केही बोल्दिनँ । मैले बोल्नुपर्ने ठाउँमा सबैकुरा भनिसकेको छु”–उनले भने । मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए । उनले भने, “अभिषेक गिरीको सहयोगी भई कैदीबन्दीको रकम असुलीमा उनका सहयोगीहरूको पनि प्रत्यक्ष संलग्नता देखिएको छ; अन्य तथ्यहरू पनि खुल्दै जानेछन् ।”
मोरङ कारागारमा रहेका एक हजार एक सय ९९ कैदीबन्दीमध्ये करिब ५ सय जनाले मुडा र १ सय जनाले गलैँचा बुन्ने काम गर्छन् । उनीहरूले दिनभर श्रम गरेर तयार पारेका सामग्री काठमाडौँ र चितवनका बजारमा पुग्छन्, तर भुक्तानी भने सिधै गिरीको व्यक्तिगत खातामा जाने गरेको छ ।
कारागार प्रशासनका अनुसार महिनामा औसत एक ट्रक मुडा बिक्री हुँदा ३ देखि ४ लाख रुपैयाँ सङ्कलन हुन्थ्यो ।
यसैगरी असार १२ गते मोरङ कारागारको ‘ब्लक बी’ मा रहेका ५ सय ४४ जना कैदीबन्दीलाई जनही २५ सयका दरले वितरण गरिएको १३ लाख ६० हजार रुपैयाँ भत्ता पनि गिरीका सहयोगीहरूले जबरजस्ती सङ्कलन गरेको आरोप छ । यस असुलीमा मण्डलसँगै विनोद सिंह, तरकारी आपूर्तिकर्ता विजय कामत र केही कारागार कर्मचारीको समेत संलग्नता देखिएको प्रहरीको दाबी छ ।
सोही सूचनाका आधारमा प्रहरीले असार १३ गते गिरीलाई विराटनगर–८ मधुमारास्थित निवासबाट पक्राउ गरेको थियो । गिरीलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थप गर्न सोमबार मोरङ अदालत लगिएकोमा अदालतले उनलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको थियो । तर अदालतबाट छुट्नासाथ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पुनः पक्राउ गरी काठमाडौँ पु¥याएको छ ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार गिरीलाई ठगी तथा आपराधिक विश्वासघातको कसूरमा पक्राउ गरिएको हो । उनले निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी गरेको र श्रेष्ठको आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि.का सवारी साधनहरू समेत कब्जामा लिएर कवाडीमा बेचेको आरोप छ ।
गिरीले श्रेष्ठको काठमाडौँको घरजग्गासमेत राजीनामा पास गरी लिएको र चेक काट्न लगाएको प्रहरीको भनाइ छ ।