विजयपुर । धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत तेक्वान्दो प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।


पुरुषतर्फ ४२ केजी तौल समूहमा बुद्ध आदर्श स्कुलका विसु राईले स्वर्ण पदक जिते । सुनाखरी एकेडेमीका इयोनहाङ राईले रजत पदक जित्दा जेम्स स्कुलका जोन राई र विष्णु मेमोरियल स्कुलका युसेन लिम्बूले कांस्य पदक हात पारे ।


४५ केजी तौल समूहमा सैनिक आवासीय महाविद्यालयका दिपसन श्रेष्ठ स्वर्ण पदक विजेता बने । होलिल्याण्ड स्कुलका विवेक लिम्बूले रजत पदक जिते भने जुनियर पायोनियरका सौगात भुजेल र देउराली चिल्ड्रेन स्कुलका एलन राईले कांस्य पदक प्राप्त गरे ।


४८ केजी तौल समूहमा सैनिक स्कुलका प्रिन्स एक्तेन लिम्बूले स्वर्ण पदक जिते । नेपाल पुलिस स्कुलका निमेश तामाङ दोस्रो भए भने विष्णु मेमोरियलका एरिक मगर र होलिल्याण्ड स्कुलका निश्चियन राईले कांस्य पदक जिते ।


५१ केजी तौल समूहमा लोटस स्कुलका सञ्जोग राई स्वर्ण पदक विजेता बने । आइडियल स्कुलका सिमोन राईले रजत पदक जित्दा केके इन्टरनेशनल स्कुलका रेमन राई र सरस्वती मावि, पानबारीका कृष्ण विकले कांस्य पदक जिते ।


यस्तै, महिलातर्फ ३६ केजी तौल समूहमा धरान १२ स्थित पब्लिक हाई स्कुलकी रुष्टिका परियारले स्वर्ण पदक जितिन् । लिबर्टी रेसिडेन्सियल स्कुलकी सिम्रन रोक्काले रजत पदक जितिन् । सैनिक स्कुलकी इसा वन र सरस्वती मावि पानबारीकी सृष्टि लिम्बूले कांस्य पदक हात पारे ।


४३ केजी तौल समूहमा डिपोट स्कुलकी प्रियंशा थाम्देन प्रथम भइन् । राइजिङ बोर्डिङ स्कुलकी वर्षा राई दोस्रो भइन् भने सुनगाभा स्कुलकी आकांक्षा खड्का र सैनिक स्कुलकी लुङ्मा जिमीले कांस्य पदक जिते ।


४६ केजी तौल समूहमा नेपाल पुलिस स्कुलकी सदिक्षा राईले स्वर्ण पदक जितिन् । विष्णु मेमोरियल स्कुलकी आजुमी राईले रजत पदक जित्दा शिक्षा सन्देश, पानबारीकी अस्मीता राई र राइजिङ्ग बोर्डिङ स्कुलकी अस्ती लिम्बूले कांस्य पदक प्राप्त गरिन् ।


४९ केजी तौल समूहमा जोल साय स्कुलकी प्रिति राईले स्वर्ण पदक जितिन् । सरस्वती मावि, पानबारीकी क्रिस्टिना झाले रजत पदक जितिन् भने सैनिक स्कुलकी रेनिसा राई र विष्णु स्कुलकी अन्मोल लिम्बूले कांस्य पदक हात पारे ।


धरान खेलकुद मञ्चको आयोजनामा तथा धरान उपमहानगरपालिकाको संयोजनमा सञ्चालन भइरहेको तेस्रो मेयर कप स्कुल ओलम्पिकमा तेक्वान्दोसहित सेपाकताक्रो, फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, करातेलगायत १० वटा खेल विधा समावेश छन् ।