धरान । प्रतिकूल बकपत्रका कारण सरकारी साक्षी बनेका उदयपुर चौदण्डीगढी नगरपालिका–५ का विकासकुमार चापागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको छ ।

साक्षी चापागाईंले बयान तथा मिसिलमा संलग्न प्रमाण कागजहरूको प्रतिकूल हुने गरी (प्रतिवादीलाई नै फाइदा पुग्ने गरी) बकपत्र गरेको पुष्टि भएपश्चात् गत असार १० गते आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ । उनले विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८२–सीआर–०१०३ मा प्रतिवादी झलकराम अधिकारीसमेत रहेको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा सरकार पक्षको साक्षी बनेका थिए । तर उनले आयोगको अनुसन्धान अधिकृतसमक्ष गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेपश्चात् उनीविरुद्ध आरोप पत्र दायर गर्नुपरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले विज्ञप्तिमा जनाएका छन् ।

अधिकारीसहितको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा सरकारी साक्षी बसी अनुसन्धान अधिकृतलाई सहयोग गरेका कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को दफा ४४ बमोजिम सजायको मागदाबीमा पूर्णरूपमा छुट दिइएको थियो ।

तर उनले प्रतिवादी अधिकारीसहितलाई फाइदा पुग्ने गरी अदालतमा बकपत्र गरेका कारण उनीमाथि ऐनको दफा ३ अनुसार कसूरजन्य कार्यको मतियार भएको जनाएको छ । सोही ऐनको दफा २२ बमोजिमको कसूर गरेकाले ५० लाख रुपैयाँ बिगो कायम गरी मुख्य कसूरदार सरह सजाय माग गरी आरोप पत्र दायर गरिएको प्रवक्ता न्यौपानेले जनाए ।

उनीविरुद्ध ऐन साथै सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा ३ को उपदफा (१) को (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) को परिभाषित कसूरको मद्दत सहजीकरण तथा मतियार भएको जनाइएको छ । उनीमाथि ५० लाख रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३० को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको हो । सरकारी साक्षी चापागाईले विशेष अदालतमा गत जेठ १३ गते बकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान तथा मिसिल संलग्न प्रमाण कागजहरूको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको जनाइएको छ ।

प्रतिवादी अधिकारीले राजस्व चुहावटका विषयमा अनुसन्धान कारबाही नगर्ने नगराई दिनेलगायतका कामबापत गैरकानूनी लाभ लिने मनसाय राखी व्यापारिक कारोबारमा सहजीकरण एवम् मोलाहिजा गरी दिनको लागि घूसबापतको ५० लाख रुपैयाँ बराबरको चेक चापागार्इंले बुझिलिएको र बैङ्कमा दाखिला गरी भुक्तानी लिएको देखिएको अख्तियारले जनाएको छ ।