विजयपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’  नारासहित आज (सोमबार) २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइरहँदा कोशी प्रदेशमा कुल धान खेतीयोग्य क्षेत्रफलको १५.३३ प्रतिशतमा मात्र रोपाइँ भएको छ ।

कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर वर्ष दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको छ । १२ असार गतेसम्म ४२ हजार तीन सय ५८ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको हो । जुन कुल लक्ष्यको १५ दशमलव ३३ प्रतिशत हो । गतवर्ष सोही अवधिसम्म प्रदेशमा १४ दशमलव २५ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष गत वर्षभन्दा बढी रोपाइँ भएको जनाएको छ ।

कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी विकास अधिकृत टोनी बर्देवाका अनुसार समयमा पानी परेकाले गत वर्षभन्दा अलिकति बढी रोपाइँ भएको बताए । उनले भने, “गतवर्ष खडेरीका कारणले कम रोपाइँ भएको हो । यस वर्ष समयमै पानी परेकाले केही सुधार भएको छ ।” उनका अनुसार उत्पादकत्व पनि बढ्ने अनुमान गरिएको छ । गतवर्ष ४ दशमलव चार मेट्रिक टन उत्पादकत्व भएको बताउँदै अधिकृत बर्देवाले भने, “यो वर्ष उत्पादकत्वमा पनि सुधार आउने अनुमान गरिएको छ ।” उनका अनुसार बालीमा किरा नलागे, प्राकृतिक विपत्तिहरू नआए उत्पादकत्व बढ्ने अनुमान छ ।

निर्देशनालयका अनुसार उच्च मध्यपहाडी क्षेत्रका तीन जिल्लामा १५ हजार ३ सय ८४ हेक्टरमध्ये एक हजार छ सय ७९ हेक्टर अर्थात् १० दशमलव ९१ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । ताप्लेजुङमा ५ हजार ६ सय ६६ हेक्टरमध्ये ६ सय ५२ हेक्टर  अर्थात् ११ दशमलव ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सङ्खुुवासभामा आठ हजार चार सय ९३ हेक्टरमध्ये आठ सय ४९ हेक्टर जुन १० प्रतिशत हो । सोलुखुम्बुमा एक हजार दुई सय २५ हेक्टरमध्ये एक सय ७८ हेक्टर अर्थात् १४ दशमलव ५३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।

मध्यपहाडी क्षेत्रका पाँच जिल्लामा भने रोपाइँको प्रगति अपेक्षाकृत राम्रो देखिएको छ । यस क्षेत्रमा कुल ६७ हजार ७ सय १८ हेक्टरमध्ये १८ हजार तीन सय ७० हेक्टर अर्थात् २७ दशमलव १४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । पाँचथरमा ५ हजार ८ सय ४९ हेक्टरमध्ये २ हजार ३ सय ९८ हेक्टर अर्थात् ४१ प्रतिशत रोपाइँ सकिएको छ । इलाममा ११ हजार ६३ हेक्टरमध्ये एक हजार चार सय ३८ हेक्टर जुन १३ प्रतिशत हो । भोजपुरमा १२ हजार ५० हेक्टरमध्ये आठ हजार एक सय ९५ हेक्टर अर्थात् ६८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । प्रदेशभर सबैभन्दा बढी रोपाइँ भोजपुरमा भएको छ ।

यस्तै तेह्रथुममा ६ हजार ६ सय १५ हेक्टरमध्ये १ हजार ८ सय ६५ हेक्टर जुन २८ प्रतिशत हो । धनकुटामा ४ हजार ९ सय ३९ हेक्टरमध्ये ६ सय ९१ हेक्टरमा रोपाइँ भएको छ, जुन १४ प्रतिशत हो । उदयपुरमा १३ हजार ३ सय ८० हेक्टरमध्ये १ हजार ३ सय ५५ हेक्टर अर्थात् १० दशमलव १३ प्रतिशत रोपाइँ भएको छ । ओखलढङ्गामा ३ हजार ८ सय ३ हेक्टरमध्ये ४ सय ३० हेक्टर रोपाइँ भएको छ, जुन ११ दशलमव ३१ प्रतिशत हो । खोटाङमा १० हजार १८ हेक्टरमध्ये २ हजार ६ हेक्टर अर्थात् २० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

अन्न भण्डारका रूपमा चिनिने तराईका तीन जिल्लामा कुल एक लाख ९३ हजार २ सय ८६ हेक्टर धान क्षेत्रमध्ये २२ हजार ३ सय हेक्टर अर्थात् करिब १२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । झापामा ७५ हजार ४ सय ५९ हेक्टरमध्ये ४ हजार ६ सय २६ हेक्टर अर्थात् ६.१३ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ ।  जुन प्रदेशमै सबैभन्दा कम हो । मोरङमा ६९ हजार ८ सय १७ हेक्टरमध्ये १० हजार ४ सय ७३ हेक्टर अर्थात् १५ प्रतिशत तथा सुनसरीमा ४८ हजार ९ हेक्टरमध्ये ७ हजार २ सय १ हेक्टर अर्थात् १५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको निर्देशनालयको विवरणमा उल्लेख छ ।

निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामा कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर धान क्षेत्रमध्ये ४२ हजार ३ सय ५८ हेक्टर अर्थात् १५.३३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयले धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा धानको बेर्नालाई माला बनाउने÷लगाउनेलगायत कार्य नगर्न पनि अनुरोध गरेको छ ।