विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा पछिल्लो समय  लागूपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेहरूको सङ्ख्या बढेको छ । ट्राफिक प्रहरीको अभिलेख अनुसार, पछिल्लो तीन वर्ष ९ महिना (२०७९ देखि २०८२ चैत १७ सम्म) मा ९ सय १ जना चालकको स्वास्थ्य परीक्षण गर्दा ३ सय ३७ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको छ । यसको बर्सेनि ग्राफ हेर्दा अवस्था झनै भयावह देखिन्छ ।

आर्थिक वर्ष २०७९/०८० मा ६२ जनाको परीक्षण गर्दा २६ जना, २०८०/०८१ मा १ सय ९४ जनाको जाँच गर्दा १ सय १० जना र २०८१/०८२ मा ४ सय ८० जनाको जाँच गर्दा १ सय ५२ जनामा लापसे पुष्टि भएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ को चैत १७ गतेसम्म मात्रै १ सय ६५ जनाको जाँच गर्दा ४९ जना चालक लापसेमा परेका छन् ।

अर्कोतर्फ, २०७८ देखि हालसम्म (४ वर्ष ९ महिनामा) कोशी प्रदेशमा २१ हजार ९६ वटा सवारी दुर्घटना भएका छन्, जसमा परी २ हजार ८५ जनाले ज्यान गुमाएका छन् भने ३५ हजार २ सय ५० जना घाइते भएका छन् । यी दुर्घटनाहरूको एउटा मुख्य कारण चालकले गर्ने नशाजन्य पदार्थको सेवन पनि कारण रहेको प्रहरीको विश्लेषण छ ।

मोरङमा चालु आर्थिक वर्षमा मात्रै लागूऔषध सेवन गरेर सवारी चलाउने दुई दर्जन सवारी चालकलाई मोरङ अदालतमा लागूऔषध सेवन मुद्दा चलाएर कानूनी कारबाहीको दायरामा ल्याएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए । 

“मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको पाइएमा हामी चालकलाई जरिबाना गर्छौं र सवारी साधन चलाउन नदिई लाइसेन्स भएका आफन्त वा अरू व्यक्तिको जिम्मा लगाउँछौँ । तर, लागूऔषध सेवन (लापसे) को हकमा भने यो प्रक्रिया निकै कडा हुन्छ । लागूऔषध सेवन गरेर सवारी चलाएको पुष्टि हुनासाथ हामी मुद्दाकै प्रक्रियामा जान्छौँ । चालु आर्थिक वर्षमा मात्रै लापसे गरी सवारी चलाउने २० जना चालकलाई लागूऔषध मुद्दामा कारबाही गरिएको छ ।”

कसरी गरिन्छ परीक्षण ?

लापसे जाँचका लागि ‘मल्टी ड्रग युरिन टेस्ट किट’ को प्रयोग गरिन्छ । चालकलाई एउटा सानो डिब्बामा पिसाब भर्न लगाइन्छ र उक्त पिसाबलाई किटमा राखेर १० देखि १५ मिनेटभित्र नतिजा निकालिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने भन्छन्, “किटले कुन प्रकारको लागूऔषध सेवन गरेको हो भन्ने पनि देखाउँछ । अहिले परीक्षण गर्दा सबैभन्दा बढी गाँजा सेवन र खुल्ला सीमाको फाइदा उठाउँदै जोगबनी गएर पिल्स र कफ सिरप लागूऔषध सेवन गरेर सार्वजनिक यातायात चलाएको पाइएको छ ।”

प्रहरीका अनुसार चालकले लागूपदार्थ प्रयोग गरे वा नगरेको जाँच गर्न मादक पदार्थको जस्तो छिटो हुँदैन । यसका लागि केही बेर समय लाग्छ । उनका अनुसार मापसे जाँचमा जस्तो सबै चालकहरूलाई नभई शङ्का लागेका व्यक्तिहरूलाई मात्रै परीक्षण गर्ने गरिएको छ । “सबै चालकलाई परीक्षण गरेर सम्भव पनि हुँदैन । हामीले यसो हेरेर शङ्का लागेकोलाई परीक्षण गर्छौं”–उनले भने । दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियान तीव्र बनाएको इन्स्पेक्टर न्यौपानेले बताए ।  

यद्यपि, यो परीक्षण खर्चिलो छ । एउटा किटको मूल्य करिब ५ सय रुपैयाँ पर्छ । नेपाल औषधि व्यवसायी सङ्घ मोरङले सामाजिक उत्तरदायित्व अन्तर्गत विगत पाँच वर्षमा ५ सय थान किट प्रहरीलाई सहयोग गरेको सङ्घका अध्यक्ष देशबन्धु ढकाल बताउँछन् । “यात्रुहरू सुरक्षित ढङ्गले गन्तव्यमा पुग्न सकून् भन्ने हाम्रो उद्देश्य हो”–उनले भने ।

कानूनी कारबाही र चुनौती

मापसेमा सामान्य जरिबाना र सचेतना दिएर छोडिने भए पनि लापसेमा भने कडा कानूनी प्रावधान छ । कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद शर्माका अनुसार लापसे गरेको पुष्टि भएमा लागूऔषध सेवनको मुद्दा चलाउने गरिएको छ ।

तर, सीमित स्रोत र साधनका कारण सबै चालकको परीक्षण सम्भव छैन । कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद घिमिरे भन्छन्, “चालकको लापरबाही र नशा सेवन नै दुर्घटनाका मुख्य कारण हुन् । हामीले चेकजाँचलाई अझ कडा बनाउने रणनीति लिएका छौँ । यात्रुको जीवनसँग खेलवाड गर्नेलाई कुनै पनि हालतमा छोडिने छैन ।”

लागूऔषध विरुद्धका अभियन्ता सञ्जीव चापागाईं भने राज्य र यातायात व्यवसायी दुवै जिम्मेवार बन्नुपर्ने सुझाव दिन्छन् । “अहिले मापसेभन्दा लापसेको समस्या डरलाग्दो छ । यातायात व्यवसायीले चालक नियुक्त गर्दा नै लागूऔषध सेवन नगर्ने प्रतिबद्धता गराउनु पर्छ” उनी भन्छन्, ‘‘प्रहरीको सक्रियता मात्र पर्याप्त छैन, चालकको नैतिकता र यात्रुको सजगता पनि उत्तिकै जरुरी छ । अन्यथा, नशाको तालमा गुड्ने सवारीले जुनसुकै बेला सडकलाई रक्ताम्मे बनाउन सक्छ ।”

के छ कानूनी व्यवस्था ?

नेपालको लागूऔषध नियन्त्रण ऐन, २०३३ ले लागूऔषध सेवन र यसको प्रभावमा गरिने कार्यलाई गम्भीर अपराधको रूपमा व्याख्या गरेको छ । ऐनको दफा १४ अनुसार लागूऔषध सेवन गरेर सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

यस्तै, अफिम, कोकिन वा सोबाट बनेका लागूऔषध (ब्राउन सुगरसहित) सेवन गर्नेलाई दफा १४ (घ) बमोजिम १ वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिबानाको प्रावधान छ । त्यसैगरी, प्राकृतिक वा कृत्रिम लागूऔषध तथा मनोद्विपक पदार्थ सेवन गर्नेलाई दफा १४ (झ) अनुसार दुई महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने कानूनी व्यवस्था रहेको छ । 

मोरङ जिल्ला अदालतमा लामो समयदेखि वकालत गर्दै आएका अधिवक्ता पेरिस सुवेदीका अनुसार अदालतमा आउने मुद्दामध्ये ठूलो हिस्सा लागूऔषधकै हुने गरेको छ । अदालतको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अधिवक्ता सुवेदीले भने, “अहिले मोरङ अदालतमा दर्ता हुने मुद्दामध्ये करिब ८० प्रतिशत मुद्दा लागूऔषधसँगै सम्बन्धित हुने गरेका छन् । उदाहरणका लागि, गत चैत २५ गते अदालतमा जम्मा ९ वटा मुद्दाको पेसी चढेर थुनछेक बहस भएको थियो । तीमध्ये ७ वटा त लागूऔषधकै मुद्दा थिए ।

बहसपश्चात् ६  वटा मुद्दाका अभियुक्तहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अधिवक्ता सुवेदी भन्छन्, “यसले के देखाउँछ भने समाजमा लागूऔषधको लत भयावह रूपमा फैलिरहेको छ । विशेषगरी युवापुस्ता यसको सिकार भइरहेका छन् र उनीहरू कानूनी कठघरामा उभिनुपर्ने अवस्था बढ्दो छ ।”

किन बढ्दै छ लापसे ?

ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि चालकहरूले विकल्पको रूपमा लापसे रोज्न थालेको पाइएको छ । नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी प्रदेश सुनसरी इटहरीका प्रमुख एसपी दिपक गिरी भन्छन्, “मापसे त गन्ध र हाउभाउले सजिलै थाहा हुन्छ । तर लापसे गरेको गन्ध आउँदैन, परीक्षण नगरी थाहा हुँदैन । त्यसैले चालकहरूले प्रहरीलाई छल्न लागूऔषध सेवन गर्ने प्रवृत्ति बढेको पाइएको छ ।”

प्रहरीका अनुसार धेरैजसो चालकहरूले गाँजा, प्रतिबन्धित पिल्स र कफ सिरप सेवन गर्ने गरेका छन् । विशेषगरी लामो दूरीका चालकहरूले निन्द्रा भगाउने बहानामा वा नशाको तलतल मेटाउन यस्तो जोखिम मोल्ने गरेका छन् ।

सेवनकर्ताहरूले लागूऔषध प्रयोग गरेको सहजै पहिचान नहुने भएका कारण पनि यो प्रवृत्ति बढेको हो । “रक्सी खाएपछि हाउभाउ र गन्धले नै थाहा हुन्छ । तर लागूपदार्थ प्रयोग गरेको गन्ध आउँदैन । परीक्षण गरेपछि मात्रै थाहा हुने कुरा हो” एसपी गिरीले भने, “मापसेजस्तो हा....गरेर मात्रै थाहा हुने होइन यो । लापसेका लागि पिसाब जाँच गर्नुपर्छ । यसका लागि परीक्षण किटहरू चाहियो, प्रयोगशाला प्राविधिकको टोली चाहियो ।” प्रहरीले अहिले जनचेतनाका लागि नमुना स्तरमा मात्रै लापसे परीक्षण भइरहेको छ । 

“लागूपदार्थ सेवन गरेर चलाउनु हुँदैन वा त्यस्तो चालकले चलाएको गाडीमा बस्नु हुँदैन भनेर मानिसहरू सचेत पनि होऊन् भन्ने हाम्रो उद्देश्य हो” उनी भन्छन्, ‘‘यसरी सवारी चालउँदा आफू त जोखिममा पर्छन् नै उनीहरूका कारण यात्रु पनि जोखिममा पर्ने हुन्छ । गाडी चलाउँदा मापसे, लापसे वा अन्य कुनै पनि नशालु पदार्थ लिनुहुन्न भन्ने सन्देश पुगेर पनि यो क्रम रोकिएको छैन ।”

लामो समयदेखि जाँच अभियान तीव्र पारिए पनि नशाको तालमा गाडी चलाउन नरोकिनु दुःखद् विषय भएको प्रहरीको भनाइ छ । 

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव अस्मान तामाङले लागूऔषध रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले प्रहरीसँग मिलेर काम गरिरहेको बताए । उनका अनुसार लागूऔषध नियन्त्रणका लागि विनियोजित बजेट हाल रोक्का भएको र त्यसलाई खुलाउन पहल भइरहेको छ । “हामीले रोक्का भएको बजेट फुकुवा गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयमा पत्राचार गरिसकेका छौँ । बजेट प्राप्त हुनासाथ पूर्वनिर्धारित सबै कार्यक्रमहरू सञ्चालन हुनेछन्”–उनले भने ।