धरान । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा निजी सवारीलाई नियन्त्रणमा लिएको छ ।
चेकिङका क्रममा प्रहरीले चारपाङ्ग्रे चारवटा सवारीलाई नियन्त्रणमा लिएको शुक्रबारको पत्रकार सम्मेलनमा जनाइयो । प्रहरीका अनुसार विभिन्न मितिमा प्रदेश १–०१–००१ च ९९१२ नम्बरको निजी कार, प्रदेश २–००२ च ४०९८ नम्बरको बोलेरो पिकअप, बा.१३ च ७७६ नम्बरको निजी कार र भारतीय नम्बर प्लेटको एसके ०१ प ३०२९ नम्बरको कारलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार विभिन्न मितिमा कोशी प्रदेशका विभिन्न स्थानबाट ती गाडीहरू नियन्त्रणमा लिइएका हुन् । चेकजाँचको क्रममा आवश्यक कागजात नभएको पाइएपछि जाँच गर्दै जाँदा आफूखुसी नम्बर प्लेट हालेर प्रयोगमा ल्याइरहेको पाइएको थियो ।
प्रहरीका अनुसार इटहरी, भोक्राहा नरसिंह गाउँपालिका, बिर्तामोड नगरपालिका र झापाको भद्रपुर नगरपालिकाबाट गाडीहरू नियन्त्रणमा लिइएको थियो ।
उक्त सवारीहरूको आरसी बुकमा उल्लेखित इन्जिन र चेसिस नम्बर फरक परेको पाइएको थियो । आवश्यक अनुसन्धान गर्नका लागि उक्त सवारी साधनलाई सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको जनाइएको छ ।






























