धरान । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख सतिश सत्यालले १५ दिनपछि सफाइ पाएका छन् ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनिवार्य स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका प्रशिक्षार्थीलाई ‘पास’ गराएको आरोप लागेर जिम्मेवारीबाट हटाइएका उनले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट ‘क्लिन चिट’ पाएका हुन् । उनीमाथि गम्भीर अनियमितताको उजुरी र अनुगमनका क्रममा कैफियत भेटिएको भन्दै मन्त्रालय तानिएका थिए ।
मन्त्रालयका सचिव आस्मान तामाङले नवौं तहका अधिकृत सत्याललाई मन्त्रालयमा हाजिर गराएर औपचारिक छानबिन प्रक्रिया अघि बढाएको बताएका थिए । तर, हाल आएर घटनाको अनुसन्धानपश्चात् क्लिन चिट पाएका हुन् ।
मन्त्रालयले गरेको छानबिनबाट उनीमाथि लगाइएको आरोप पुष्टि हुन नसकेपछि क्लिन चिट दिइएको जनाइएको छ । मन्त्रालयले उनलाई चैत १२ गते जिम्मेवारीबाट हटाएको थियो । छानबिन गर्न यातायात व्यवस्था महाशाखा प्रमुख उर्मिलादेवी निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनेको थियो ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउनका लागि कार्यादेश दिइएको थियो । सोही आधारमा उक्त समितिले गरेको छानबिनपछिको प्रतिवेदनमा आरोप लगाइएजस्तो कुनै कार्य नभेटिएपछि क्लिन चिट दिएको जनाइएको छ ।
मन्त्रालयका उपसचिव एवम् प्रवक्ता अर्जुन निरौलाका अनुसार समितिले प्रदेश सचिवलाई प्रतिवेदन बुझाएको छ । “प्रतिवेदनको डिटेल अध्ययन गर्न पाएको छैन । तर, संलग्नता केही देखिएन । अन्यथा देखिएन भन्ने रिपोर्ट छ” उनले भने, “महाशाखा प्रतिवेदन के छ भनेर अपडेट हुन सकेको छैन । दुई दिनदेखि कार्यालयमा अनुपस्थित थिएँ ।”
समितिले कार्यालयको अभिलेख, स्वास्थ्य परीक्षण प्रक्रिया, पुनः परीक्षण प्रणाली तथा कर्मचारीहरूको भूमिकासम्बन्धी कागजातहरूको अध्ययन गरेको जनाएको छ । आर्थिक लेनदेन तथा सेटिङ गर्ने पुष्ट आधार नभेटिएपछि सफाइ दिइएको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक निरौलाले उजुरीमा दाबी गरिएअनुसार कार्यालय प्रमुखको प्रत्यक्ष संलग्नता प्रमाणित गर्न नसकिएको बताइन् । उनका अनुसार छानबिनका क्रममा लाइसेन्स प्रक्रियामा केही प्रणालीगत कमजोरी र अस्पष्टता भने देखिएको उल्लेख गरिएको छ ।
सत्याल मन्त्रालयमा तानिएपछि कार्यालयको दैनिक प्रशासन सञ्चालनका लागि वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई जिम्मेवारी दिइएको थियो । अब भने उनी स्वयम् जिम्मेवारीमा आउने भएका छन् । उनलाई आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीको निर्देशनमा सचिव तामाङ नेतृत्वको टोलीले छड्के अनुगमन गरेको थियो ।
यातायात कार्यालयहरूमा हुने मेडिकल ‘सेटिङ’ रोक्न मन्त्रालयले गत कात्तिक १६ देखि विशेषज्ञ चिकित्सक खटाउने व्यवस्था गरेको थियो । झापाको बिर्तामोडमा दुई, इटहरीमा दुई र विराटनगरमा एक विशेषज्ञ चिकित्सक नियुक्त गरी स्वास्थ्य परीक्षणलाई कडाइ गर्न खोजिएको थियो ।
यसअघि ब्लाष्टकर्मीले सत्याललाई सम्पर्क गर्दा आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए । उनले स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएकालाई पैसा लिएर पास गराएको कुरा निराधार रहेको दाबी गरेका थिए ।






























