धरान । सातामा दुई दिन बिदा दिने निर्णय व्यावहारिक नदेखिएपछि कोशी प्रदेशको ताप्लेजुङस्थित आठराई त्रिवेणी गाउँपालिकाले पुरानै कार्यालयीय समयलाई यथावत् राखेको छ । 

सङ्घीय सरकारले चैत २३ गतेदेखि लागू हुने गरी सातामा शनिबार र आइतबार कार्यालय र विद्यालय बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय उल्टाउँदै आठराई त्रिवेणी गाउँपालिकाले आइतबार कार्यालय खोल्ने भएको हो । गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमूका अनुसार सरकारले गरेको निर्णयअनुसार केही दिन अभ्यास गर्दा व्यावहारिक नदेखिएपछि पुरानै कार्यालयीय समयलाई यथावत् गरिएको छ । 

सरकारले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । यसको सट्टामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर, पहाडी क्षेत्रहरूमा त्यसको व्यावहारिक पक्ष नहुने देखिएपछि १० बजेदेखि ५ बजेसम्मलाई नै यथावत् राख्दै आइतबार पनि लगाउने भएको हो । “काठमाडौँ र सहरतिर ठिकै होला । तर यहाँ त्यो ‘पोसिबल’ देखिएन । यहाँ कर्मचारीहरू दुईघण्टा हिँडेर आउनेहरू पनि छन् । उनीहरूलाई सात बजे नै हिँड्नुपर्ने हुन्छ । त्यो यहाँ व्यावहारिक देखिएन” उनले फोनसम्पर्कमा भने, “सेवाग्राहीलाई पनि त्यही हिसाबमा हिँड्नुपर्ने बाध्यता छ ।”

उनका अनुसार केही दिन अभ्यास गरी हेर्दा कर्मचारी आए पनि सेवाग्राही नआउने कारणले गर्दा पनि यस्ता स्थानहरूमा व्यावहारिक नदेखिएको हो । “केन्द्रले काठमाडौँ उपत्यकालाई सोचेर निर्णय गर्छ, यहाँको समस्या के हो भन्ने उसलाई थाहा छैन । काठमाडौँतिर त ठिकै हो । यहाँ त्यो पोसिबल छैन”–उनले भने । चालु आर्थिक वर्ष सकिन लागेकाले पनि यहाँ सम्भव नदेखेपछि कार्यपालिकाबाट निर्णय गरी आइतबार पनि कार्यालय खुल्ने उनले जनाए । 

आठराई त्रिवेणी गाउँपालिकाको बुधबार बसेको ६० औँ कार्यपालिका बैठकले केन्द्रको निर्णयविपरीत कार्य गरेको हो । अव्यावहारिक देखिएपछि कार्यपालिकाको बैठकले निर्णय गरेको उनले जानकारी दिए । “हामीले त बिदाको दिन पनि काम गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ” उनले भने, “आर्थिक वर्ष सकिन लागेको छ । अब त झनै काम धेरै गर्नुपर्ने देखिएको छ । यस्तो अवस्थामा माथिको निर्णय अव्यावहारिक देखियो ।” 

गाउँपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारी साथै सरोकारवाला पक्षसँग बसेर गाउँपालिकाले पुरानै कार्यालय समयलाई मान्यता दिएको हो । अध्यक्ष पोमूले फेसबुकमा पनि लेखेका छन्, “आठराई त्रिवेणी गाउँपालिका शनिबार र आइतबार बिदा नहुने शनिबार मात्र बिदा हुने । कार्यालय १०–५ नै लाग्ने । बरु बिदाको दिन पनि काम परे थप इन्सेन्टिभको व्यवस्था गरेर कार्यालयहरू सञ्चालन गर्ने ।”

कार्यपालिकाले गरेको निर्णय हालसम्म पालिकाको वेबसाइटमा भने राखिएको छैन । उनले फोनसम्पर्कमा भने, “निर्णय भइसकेको छ । राख्ने काम भइरहेको छ । केही समयपश्चात् राख्छौँ ।” केन्द्रको निर्णयलाई कतिपयले संविधानविपरीतको निर्णय भनी बताउँदै आइरहेका छन् । संविधानमा प्रष्टसँग स्थानीय तह र प्रदेश तहको अधिकारको सूचीको व्यवस्था गरिएको छ ।