हङकङ । यहाँस्थित हङकङ नेपाली महासंघले आइतबार (मार्च १) मा सांस्कृतिक सद्भाव कार्निभल एन्ड ट्यालेन्ट शो २०२६ कार्यक्रम सम्पन्न गरेको छ ।

एभरेष्ट पार्टी प्यालेसमा चाइनिज नयाँ वर्षको अवसर पारेर गरिएको कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । महासंघकी पूर्व अध्यक्ष रीता गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि हङकङस्थित नेपालका राजदूत डा. विन्देश्वरप्रसाद लेखक रहेका थिए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा वाइटिएम जिल्लाकी असिस्टेन्ट डिस्ट्रिक अफिसर एलिई यिम, सिनियर इक्वाल अपचुनिटिस अफसर रेमन्ड एचओ, डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङलगायतको उपस्थिति रहेको थियो । यस्तै हङकङ नेपाली महासंघका संरक्षक, पूर्वअध्यक्षहरु, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फिलिपिन्सको सांस्कृतिक नृत्य, सरस्वती नृत्य, नेपाली सांस्कृतिक नृत्य, के पप डान्स, तेक्वान्दो प्रदर्शन र भारतीय फिल्मको गीतमा नृत्य प्रस्तुत गरिएको महासंघका अध्यक्ष नवीन सुहाङले जानकारी दिए ।
-जगत अम्बु गुरुङ
तस्बिरहरु : योगेश गुरुङ































