धरान । पत्रकार एवम् लेखक विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ नामक किताब मंगलबार काठमाडौँमा सार्वजनिक भएको छ । 

किताबबारे प्रकाशक बूकहिलका अध्यक्ष भूपेन्द्र खड्काले कुटनीति र राजनीतिमा चासो राख्ने पत्रकार अनुपमको महत्त्वपूर्ण दस्तावेजको रुपमा रहेको बताए । उनले ऐतिहासिक दस्तावेजको रुपमा रहेको बताए । 

शिलापत्र अनलाइनका सम्पादक योगेश ढकालले देशमा भएको पहिलो आमनिर्वाचनको विषयलाई तथ्यांकसहित प्रस्तुत गरेर पाठकहरुलाई पठनीय बनाएको बताए । उनले कतिपय नवीन सूचनाहरुलाई थप गरेको पनि बताए । 

लेखक एवम् प्राध्यापक डा. जगत नेपालले आफूले समेत थाहा नपाएका कतिपय विषय तथा तथ्यांकहरु किताबमा पाएको बताए । राजनीति विषयमा चाख राख्नेका लागि उपयोगी पुस्तक भएको उनले जिकिर गरे । 

लेखक अनुपमले आफूले पाएका तथ्य र तथ्यांकहरुलाई किताबमा समावेश गरेको बताए । पहिलो आमनिर्वाचनमा भएको कतिपय घटनाक्रमहरु सबैलाई थाहा नहुने भएकाले पनि यस्ता पुस्तक संग्रहणीय हुने बताए । 

उक्त किताबमा पहिलो चुनावमा १०९ वटै क्षेत्रको परिणाम, सबै दलका घोषणा पत्र लगायतका दस्ताबेज संग्रह गरिएको छ । यसबीचमा तत्कालीन समयका मतदाता र उम्मेदवारहरुसँग पनि प्रत्यक्ष संवाद गरी तयार पारिएको छ । 

पत्रकार अनुपमले यसअघि डोरबहादुर विष्टले लेखेको ‘रिपोर्ट फर्म ल्हासा’को  नेपाली अनुवाद ‘ल्हासाको खबर’ पुस्तक ल्याएका थिए ।