धरान । धरान उपमहानगरपालिका–३ सदन रोडमा खुद्रा पसल गर्दै आएका उमानन्द दास होलीका बेला करिब १५ हजार रुपैयाँ जतिको रङ बेच्थे । नजिकै माछाभौडी, भानुचोकमा होलीका कार्यक्रम हुन्थे । रङ किन्नेको लावालस्कर लाग्थ्यो । जताततै रङ खेलेका केटाकेटी, युवायुवती, वयस्कसम्म देख्दा खुसी हुन्थे । तर यसपटक उनी साँवा पनि डुब्ने भो भन्ने चिन्तामा थिए ।
खाजा खाँदै गरेको अवस्थामा भेटिएका उनी भन्छन्, “यसपालि साउँ निकाल्न त गाह्रो छ । फाइदा त कहाँ जाओस् ।” यसपालि आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका कारण पनि होलीको माहौल बनेन । धरानका गल्ली गल्लीमा होलीको गीत बज्थ्यो । कार्यक्रमहरू हुन्थे । रङ खेल्नेका कारण बाटोभरि रङ छरिएका हुन्थे । अण्डाहरू फुट्थे । तर, यो पटक छिटफुट रूपमा मात्रै होली खेल्ने भेटिए ।
माछाभौडीमा जुत्ताचप्पल पसल गर्दै आएका पूर्ण भुजेल भन्छन्, “जहिल्यै होलीको बेला दोकान बन्द गथ्र्यौं । आज खुल्लै छ । यहाँ खुट्टा हाल्ने ठाउँ नै हुँदैनथ्यो । हामी नै कार्यक्रम गथ्र्यौं ।” माछाभौडीमा होली हङ्गामा कार्यक्रम गरिन्थ्यो । मट्का फुटाउने कार्यक्रम हुन्थ्यो । डिजे सङ्गीतमा युवायुवतीहरू उफ्रिरहेका हुन्थे । धरानमा जता गयो त्यतै थामिनसक्नु भीड हुन्थ्यो । तर यस पटक त्यस्तो केही देखिएन ।
यसो हुनुमा धेरैले चुनावका कारणले भएको मान्छन् भने केहीले सूर्य र चन्द्रग्रहणको प्रभाव मान्छन् । पण्डित मोहन घिमिरेका अनुसार ग्रहण लागेका बेला खेल्दाखेरि ठूलो दोष नै लाग्ने भन्ने चाहिँ छैन । उनले फोनसम्पर्कमा भने, “दोष लाग्छ भनिन्छ । तर शास्त्रीय प्रमाण चाहिँ छैन । मैले चाहिँ भेटेको छैन ।” यसपल्ट धरानमा होलीका गीतहरू पनि बजेनन् । मारवाडी समुदायहरूले सधैँ धरान–१२ स्थित अमान बजारमा व्यापकरूपमा होली मनाउने गरेका थिए । तर, यस वर्ष मारवाडी समुदायले पनि सार्वजनिक स्थानहरू कार्यक्रम गरेनन् ।
“चुनावकै कारणले गर्दाखेरि कार्यक्रम गरेनौँ । हिजो मात्रै कार्यक्रम रद्द गरिएको हो” होली कार्यक्रम आयोजना गर्दै आएको मारवाडी मिड युथका प्रिन्स अग्रवालले भने, “हिन्दूको ठूलो चाड हो । मौन अवधि सुरु भएको छ । सरकारले मिलाउनु पथ्र्यो । त्यसो हुन सकेन ।” धरानको भानुचोकमा हरेक वर्ष होली हङ्गामा कार्यक्रम गरी मनोरञ्जन दिइँदै आएको थियो । यस पटक भानुचोकमा पनि कार्यक्रम भएन ।
“प्रशासनले नगर्नू भन्यो । निर्वाचनले नै समस्या भएको हो” –माछाभौडीको कार्यक्रममा सहयोग गर्दै आएका पूर्ण भुजेल भन्छन् । उनले ग्रहणको कारणले धरानमा खासै प्रभाव नपर्ने बताउँछन् । प्रत्येक वर्ष झण्डै ५–७ बोरासम्म रङगलगायतका सामान बेच्दै आएका किशोर दासले यो वर्ष एक बोरा पनि सामान नबेचेको बताए ।
“रङहरू बिकेकै छैन । एकदमै कम बिकेको छ । अघिल्लो साल झण्डै १० बोरा बेचेको थिएँ” उनले भने, “अहिले एक बोरा पनि बिकेको छैन ।” उनका अनुसार चुनाव र ग्रहणका कारणले पनि नबिकेको हुन सक्ने अनुमान लगाए । “तीन बजेपछि ग्रहण सुरु हुन्छ भनेको छ । यसले पनि होला” उनले भने । तर धेरैले ग्रहणका कारणले होलीलाई खासै प्रभाव नपर्ने बताउँछन् ।
प्रशासनले होली खेल्नका लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको छैन । प्रशासनले सार्वजनिक स्थानहरूमा होली नखेल्नका लागि अपिल गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवसिंह थेबेका अनुसार सार्वजनिक स्थलहरूमा होली नखेल्नका लागि अपिल गरेका थियौँ । उनले भने, “डिजे बजाएर नखेल्न भनी चार दिनअगाडि नै सार्वजनिक सूचना गरेका थियौँ । आपसी सहयोगमा घरपरिवारभित्र होली खेल्न सकिने भनेर जानकारी गराएका थियौँ ।”
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको छ । होलीमा रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन गर्ने प्रचलन छ ।
































