दमक (झापा)। झापाको दमक नगरपालिकामा सिटीसफारी चलाउँदै आएका सीताराम थापा ‘जनतालाई विकास’ भन्दा पनि विकास गर्ने नीति चाहिएको बताउँछन् । दमक नगरपालिका–६ मा खाजा खाँदै गर्दा भेटिएका ९ नम्बर वडावासी थापाले भने, “रोड, बिजुली मात्रै विकास होइन । शिक्षामा पोलेसी चाहियो । स्वास्थ्यमा पोलेसी चाहियो, कृषिमा पोलेसी चाहियो । व्यापार, उद्योग सबैमा हामीलाई पोलेसी चाहियो ।”
नीति बनेमा बाटो, बिजुली र पुल जस्ता भौतिक विकास स्वतः हुने उनको बुझाइ छ । “बाटो भएर मात्रै विकास हुँदैन । पोलेसी नै भएन भने दुःख पाइने र’छ” उनले भने, “दुनियाँ देशमा रोजगारीमा पोलेसी, शिक्षा, स्वास्थ्य र व्यापारमा पोलेसी हुन्छ । हाम्रोमा चाहिँ बाटो, बिजुली भन्दै बसिरहेका छौँ ।” जेन जी आन्दोलनपश्चात् आममानिसहरूमा पनि चेतनाको स्तर केही वृद्धि भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्रमा विद्यार्थी परिवारले शनिबार गरेको कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा.
लोकराज बरालले भने, “आम मानिसमा पनि माइन्ड सेट परिवर्तन भएको छ ।” धेरैजसोले अधिकारसँग चुनावलाई जोडेर हेर्ने गरेका छन् । दमक नगरपालिका–३ बेलडाँगीका कुमार घिमिरेले सरकारले दलितको नीति तथा कानून बनाए पनि व्यवहारमा लागू नभएकोप्रति आक्रोस पोखे । “छुवाछूतविरुद्धको कानून छ तर व्यवहारमा लागू भएको छैन” उनले भने, “कानून बनेर मात्रै हुँदैन रहेछ त्यसलाई कार्यान्वयन पनि गर्नुप¥यो । अहिले पनि दलितप्रति हेर्ने नजर फेरिएको छैन ।”
दलितको मुद्दालाई नेताहरूले उठाउन नसकेको उनको बुझाइ छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उठेका अधिकांश उम्मेदवारहरूले विकासको कुरालाई प्राथमिकता दिने गरेका छन् । अहिले निर्वाचित हुने सांसद्हरूले कानून तथा नीति बनाउने हो । तर सोअनुसार काम गरेको पाइँदैन । “जनताको आधारभूत आवश्यकता नै पूरा भएको छैन । यसले गर्दा पनि उम्मेदवारबाट बढी बाटोघाटो र विकास नै खोज्ने गरेका छन्” केही दिनअघि पत्रकार भेटघाटमा नेकपा (एमाले) बाट उम्मेदवार बनेका सुनसरी क्षेत्र नम्बर १ का टीकाराम माङ्ले लिम्बू भन्छन्, “त्यही भएर हामीले विकासको कुरालाई पनि उठाउने गरेका हौँ ।”
उम्मेदवारहरूले भनेजस्तै अधिकांश जनता विकास निर्माणको पर्खाइमा बसेका छन् । कमल गाउँपालिका–५ पाडाजुँगीका गणेशबहादुर बस्नेतले भने, “हाम्रोमा तटबन्धको समस्या छ । बाटोको समस्या छ । बाटो बल्लतल्ल आउँदैछ । बाटो पनि दुई बित्ता मात्रै आउँछ ।” अहिलेका उम्मेदवारहरूले पनि आफ्ना भूमिकाभन्दा बढी विकास निर्माणको कुरालाई प्राथमिकता दिँदै आएका छन् । पछिल्लो समय अधिकांश दलहरूले निकालेको प्रतिबद्धता तथा घोषणा पत्रमा पनि विकासका कुरालाई नै प्राथमिकता दिएका छन् । यसले पनि जनता झुक्किने अवस्था रहेको छ ।
तर विगतभन्दा केही सचेत हुँदै गएको देखिएको छ । दमक नगरपालिका–६ का ठेला व्यवसायी सुशील साहले भने, “नेता पनि विकास विकास भनिदिन्छ । हामी सर्वसाधारण झुक्किहाल्छौँ । नीति भयो भने त देश विकास भइहाल्छ भन्ने हाम्रो कन्सेप्ट नै देखिँदैन ।”
































